प्रज्जवल थापा । म्यान्चेस्टर युनाइटेडले लिड्स युनाइटेडको पोस्टमा आधी दर्जन गोल गरेको छ । इङलिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा म्यान्चेस्टर युनाइटेडले लिड्सलाई ६-२ गोल अन्तरले पराजित गरेको हो ।
ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडको जितमा स्कट म्याक्टोमिने र ब्रुनो फेर्नान्डेजले दुई-दुई गोल गर्दा लिन्डेलोफ र डानियल जेम्सले समान एक-एक गोल गरे । लिड्सको लागि कोप्पर र डल्लासले गरेको गोल सान्त्वनामा सिमित रह्यो । युनाइटेडले खेलको पहिलो तीन मिनेटमै दुई गोल गरेको थियो ।
दोस्रो मिनेटमा ब्रुनो फेर्नान्डेजको पासमा स्कट म्याक्टोमिनेले गोल गर्दै युनाइटेडलाई खेलमा अगाडि बढाएका थिए । तेस्रो मिनेटमा एन्थोनी मार्सियलको पासमा म्याक्टोमिनेले व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए । २० औँ मिनेटमा ब्रुनो फेर्नान्डेज आफैले गोल गर्दै युनाइटेडलाई ३-० गोलको अग्रता दिलाए ।

३७ औँ मिनेटमा मार्सियलको पासमा लिन्डेलोफले गोलपछि पहिलो हाफमा युनाइटेडले ४-० गोलको अग्रता लिएको थियो । ४१ औँ मिनेटमा राफिनाको पासमा कोप्परले गोल गर्दै लिड्सलाई खेलमा फर्काउने प्रयास गरेका थिए । पहिलो हाफमा चार गोल गरेको युनाइटेडले दोस्रो हाफमा थप २ गोल गर्यो ।
६६ औँ मिनेटमा म्याक्टिमिनेको पासमा डानियल जेम्सले गोल गर्दै युनाइटेडलाई ५-१ गोलको स्थितिमा ल्याए । ७० औँ मिनेटमा ब्रुनो फेर्नान्डेजले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडलाई ६-१ गोलको फराकिलो अग्रता दिलाएका थिए। ७३ औँ मिनेटमा राफिनाको पासमा डाल्लासले गोल गर्दै लिड्सको अन्तर छोट्टाउने प्रयास गरेका थिए । तर बाँकी समयमा थप गोल गर्न नसक्दा युनाइटेड ६-२ गोल अन्तरले विजयी भयो ।
जितसँगै युनाइटेड १३ खेलमा २६ अङ्क जोड्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ ।
