प्रज्जवल थापा । म्याड्रिड डर्बीमा आज सहरी प्रतिद्वन्दी रियल म्याड्रिड र एथ्लेटिको म्याड्रिड भिड्दै छन् । स्पेनिस लिग ला लिगा अन्तर्गत हुने खेल नेपाली समय अनुसार राती १:४५ बजे शुरु हुनेछ ।
रियल म्याड्रिड घरेलु मैदान अल्फ्रेडो डि स्टेफेनोमा हुने खेल जित्दै शिर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिडसँग अङ्क दुरि घटाउन चाहन्छ । एथ्लेटिको म्याड्रिड लिगको एकमात्र अपराजित टोली हो । हाल एथ्लेटिको १० खेलमा २६ अङ्क जोड्दै शिर्ष स्थानमा छ । त्यसैले आजको खेलमा रियल म्याड्रिड एथ्लेटिकोको विजयी यात्रामा पुर्णविराम लगाउन चाहन्छ ।
तर एथ्लेटिकोको डिफेन्स छिचोल्न रियललाई पक्कै गार्हो पर्नेछ । एथ्लेटिकोले यस सिजन ला लिगाको १० खेलमा मात्र २ गोल बेहोर्दै ८ खेलमा किल्नसिट राखेको छ । एथ्लेटिकोले पछिल्लो ५ खेलमा सतप्रतिशत जित निकालेको छ भने रियल दुई खेलमा पराजित भएको थियो । बुधबार भएको खेलमा दुवै टोलीले आ-आफ्नो खेलमा जित निकाल्दै च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेका थिए ।
सन् २०१६ देखि रियल म्याड्रिड एथ्लेटिकोसँग घरेलु लिगमा पराजित भएको छैन । आजको खेलको नतिजाले लिगको उपाधीमा केही असर गर्नेछैन तरपनी आजको खेल जित्नाले एथ्लेटिको म्याड्रिडमा थप आत्मविश्वास पक्कैपनी बढ्नेछ । एथ्लेटिको गत फेब्रुअरीमा रियल म्याड्रिडसँग १-० गोल अन्तरले पराजित भएयता ला लिगामा कुनै खेल हारेको छैन ।
रियल म्याड्रिड सबै प्रतियोगितामा गरी पछिल्लो ५ खेलमा दुई खेलमा पराजित हुँदा ३ खेलमा जित निकालेको छ । एथ्लेटिको भने २ खेलमा बराबरी खेल्दा ३ खेलमा जित निकालेको थियो ।
