प्रज्जवल थापा । अस्ट्रेलिया विरुद्धको तेस्रो तथा अन्तिम टि-२० खेलमा भारत पराजित भएको छ । मंगलबार दिउँसो भएको खेलमा अस्ट्रेलियाले भारतलाई १२ रनले पराजित गरेको हो । हारका बाबजुद भारतले तीन खेलको टि-२० सिरिज २-१ ले आफ्नो पोल्टामा पारेको छ ।
सिड्नी क्रिकेट रंगशालामा भएको खेलमा १८७ रनको विजयी लक्ष्य पछ्याएको भारतले ७ विकेटको क्षतिमा १७४ रनमात्र बनाउन सक्यो । भारतको लागि कप्तान विराट कोइलीले अर्ध सतक पूरा गरेपनी टोलीलाई जित दिलाउन सकेनन् । उनले ६१ बलमा ४ चौका र ३ छक्काको मद्दतमा सार्वधिक ८५ रन जोडे । कोइली बाहेक अन्य ब्याट्सम्यानले सोचेअनुरुप प्रदर्शन गर्न नसक्दा भारत हार बेहोर्न बाध्य भयो । शिखर धवनले २८, हार्दिक पाण्डयले २०, शार्धुल ठाकुरले १७ र सन्जु स्याम्सनले १० रनको योगदान गर्दा अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् ।
अस्ट्रेलियाको लागि मिट्चेल स्विपसनले ३ विकेट लिँदा ग्लेन म्याक्सवेल, सेन एब्बोट, एन्ड्रिउ टाई र एडम जाम्पाले १ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गर्न उत्रिएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८६ रन बनाएको थियो । अस्ट्रेलियाको लागि म्याथेउ वेड र ग्लेन म्याक्सवेलले अर्धसतक पूरा गरे । ओपनर वेडले ५३ बलमा ७ चौका र २ छक्काको मद्दतमा ८० रन जोडे । अर्का ओपनर एरोन फिंन्च सुन्यमा आउट हुँदा स्टिभ स्मिथले २३ रनको योगदान गरे । ग्लेन म्याक्सवेलले ३६ बलमा ५४ रन प्रहार गर । उनले ३ छक्का र ३ चौका प्रहार गरे ।
भारतको लागि वासिङ्टन सुन्दरले २ विकेट लिँदा नतारजन र शार्धुल ठाकुरले एक-एक विकेट लिए । जितसँगै भारतले ३ खेलको टि-२० सिरिज २-१ ले जितेको छ । एकदिवसिय सिरिजमा भारत २-१ ले पराजित भएको थियो । अब दुई टोलीबिच हुने चार खेलको टेस्ट सिरिजको पहिलो खेल डिसेम्बर १७ गते सोमबार शुरु हुनेछ ।