रोमाञ्चक खेलमा भारत विजयी

प्रज्जवल थापा । अस्ट्रेलियाविरुद्ध भएको पहिलो टि-२० खेलमा भारत विजयी भएको छ । शुक्रबार दिउँसो भएको रोमाञ्चक खेलमा भारतले घरेलु टोलीलाई ११ रनले पराजित गरेको हो ।

१६२ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५० रन मात्र बनाउन सक्यो । अस्ट्रेलियाले खेलमा राम्रो शुरुवात गरेपनी त्यसलाई निरन्तरता दिन नसक्दा हार बेहोर्न बाध्य भयो । ओपनर एर्ची शोर्टले ३८ बलमा ३४ रन जोड्दै नताराजनको बलमा आउट भए । यस्तै कप्तान एरोन फिंन्च २६ बलमा ५ चौका र १ छक्काको मद्दतमा ३५ रन बनाएर चहालको बलमा हार्दिक पाण्डयबाट क्याचआउट भए । मोइसेस हेन्रिकुइसले २० बलमा १ चौका र १ छक्काको मद्दतमा ३० रन जोड्दा अन्य ब्याट्सम्यानले सोचेअनुरुप प्रदर्शन गर्न नसक्दा हार अस्ट्रेलिया हार बेहोर्न बाध्य भयो ।

भारतको लागि युज्वेन्द्र चहालले “म्यान अफ दि म्याच” प्रदर्शन गर्दै ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । पहिलो इनिङ्समा रविन्द्र जडेजा घाइते भएपछि चहालले अवसर पाएका थिए । त्यस्तै नताराजनले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिदा दिपक चहारले १ विकेट लिए ।

यसअघि मानुका ओभलमा भएको खेलमा टस हारेर ब्याटिङ गर्न उत्रिएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६१ रन बनाएको थियो । भारतको लागि केएल राहुल र रविन्द्र जडेजाले बाहेक अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । २.५ ओभरमा ओपनर शिखर धवनलाई गुमाएको भारतले दोस्रो विकेटको रुपमा कप्तान विराट कोइलीलाई गुमाएको थियो । शिखर धवन १ रनमा स्टार्कको बलमा बोल्ड हुँदा विराट ९ रनमा स्वेप्सोनको बलमा आउट भए ।

त्यसपछि ब्याटिङ गर्न आएका सन्जु साम्सन १५ बलमा १ चौका र १ छक्काको मद्दतमा २३ रन जोड्दै पभिलियन फर्किए । यस्तै मनिष पाण्डेले २ रन बनाएर आउट हुँदा राहुलले अर्धसतक पूरा गरे । उनले ४० बलमा ५ चौका र १ छक्काको मद्दतमा ५१ रन जोडेर आउट भए । हार्दिक पाण्ड्य १६ रनमा आउट हुँदा भारत १६.५ ओभरमा ११४-६ को स्थितिमा थियो । त्यसपछि ब्याटिङ गर्न आएका रविन्द्र जडेजाले विस्फोट ब्याटिङ गर्दै भारतलाई सम्मानजनक स्कोरमा पुर्याएका थिए । जडेजाले २३ बलमा ५ चौका र १ छक्काको मद्दतमा ४४ रन प्रहार गरे ।

अस्ट्रेलियाको लागि हेन्रिकुइसले ४ ओभरमा २२ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । यस्तै स्टार्कले २ विकेट लिँदा एडम जाम्पा र स्वेप्सनले १-१ विकेट लिए ।

जितसँगै भारतले ३ खेलको श्रङखलामा १-० ले अग्रता लिएको छ । दुई टोलीबिच दोस्रो टि-२० खेल सिड्नी क्रिकेट ग्राउन्डमा आइतबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *