क्यान्सर उपचारमा नयाँ सफलता

जो म्याकफेडन, बीबीसी । व्यक्तिगत रूपमा तयार गरिएको नयाँ क्यान्सर खोपले छालाको क्यान्सर पुनः फर्किनबाट रोक्न सफल भएको प्रारम्भिक परीक्षणले देखाएको छ । औषधि कम्पनी मर्क र मोडेर्नाले विकास गरेको खोपलाई किट्रुडा नामक इम्युनोथेरापी औषधिसँग संयोजन गरेर प्रयोग गर्दा उच्च जोखिमयुक्त मेलानोमा भएका बिरामीमा सकारात्मक नतिजा देखिएको हो ।

शल्यक्रियापछि १ हजारभन्दा बढी बिरामीमा गरिएको तेस्रो चरणको परीक्षणमा खोप र किट्रुडा सँगै प्रयोग गर्ने बिरामी लामो समयसम्म क्यान्सरमुक्त रहेको पाइएको कम्पनीहरूले बताएका छन् । साथै, क्यान्सर शरीरका अन्य अंगमा फैलिने जोखिमसमेत घटेको दाबी गरिएको छ ।

मर्क र मोडेर्नाका अनुसार इन्टिस्मेरान (Intismeran) नामक उक्त खोप प्रत्येक बिरामीको ट्युमरअनुसार व्यक्तिगत रूपमा तयार गरिन्छ । बिरामीको ट्युमरको सानो हिस्सा निकालेर डीएनए सिक्वेन्सिङ गरी क्यान्सर कोषिकामा रहेका विशेष उत्परिवर्तन पहिचान गरिन्छ । त्यसका आधारमा तयार गरिएको खोपले प्रतिरक्षा प्रणालीलाई बाँकी रहेका क्यान्सर कोषिका पहिचान गरी नष्ट गर्न सक्रिय बनाउँछ ।

खोप निर्माणमा कोभिड–१९ का केही खोपमा प्रयोग गरिएको एमआरएनए प्रविधि प्रयोग गरिएको हो ।
क्यान्सर विशेषज्ञहरूले यसलाई महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरे पनि पूर्ण नतिजा सार्वजनिक नभएकाले तत्काल निष्कर्षमा पुग्न नहुने बताएका छन् । परीक्षणका नतिजा अझै स्वतन्त्र विशेषज्ञबाट पियर रिभ्यु हुन बाँकी रहेको उनीहरूको भनाइ छ ।

क्यान्सर रिसर्च यूकेकी डा. तालिसिया क्वालोले अनुसन्धानले आशाजनक नतिजा देखाएको बताउँदै अन्तरिम तथ्यांकको पूर्ण समीक्षा आवश्यक रहेको बताइन् ।

अक्सफोर्ड विश्वविद्यालयका मेडिकल अन्कोलोजिस्ट डा. लेनार्ड लीले भने यो मेलानोमा बिरामीका लागि मात्र नभई क्यान्सर उपचारको क्षेत्रमा व्यापक महत्व राख्ने बताए । उनका अनुसार यसले व्यक्तिगत क्यान्सर खोप प्रभावकारी हुन सक्छ भन्ने अवधारणाको प्रमाण दिएको छ । मर्क र मोडेर्नाले फोक्सो, मूत्रथैली र मिर्गौलाको क्यान्सरका लागि पनि यस्तै व्यक्तिगत खोपको परीक्षण गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *