रियल म्याड्रिडद्वारा इन्टर मिलान पराजित


प्रज्जवल थापा । युईएफए च्याम्पियन्स लिगमा रियल म्याड्रिडले महत्त्वपूर्ण जित दर्ता गरेको छ । बुधबार राती भएको खेलमा म्याड्रिडले इटालियन क्लब इन्टर मिलानलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

सान सिरोमा भएको खेलमा रियल म्याड्रिडलाई जित दिलाउन इडेन हजार्डले एक गोल गर्दा एक गोल उपहार पाएको थियो। खेलको सातौँ मिनेटमै म्याड्रिडले हजार्डको गोलमा अग्रता लिएको थियो । विपक्षी खेलाडीले ओडिगार्डलाई फावल गरेपछि पाएको पेनाल्टीमा हजार्डले गोल गर्दै पाहुना टोलीलाई खेलमा अगाडी बढाए ।

३३ औँ इन्टर मिलान १० खेलाडीमा सिमित भएको थियो । अर्टुरो भिडाल दुई पहेँलो कार्ड खादै मैदान बाहिरिएपछी इन्टर बाँकी समय १० खेलाडीमा खेलेको थियो । ५९ औँ मिनेटमा आर्चेफ हकिमीले आफ्नै पोस्टमा गोल गरेपछि म्याड्रिडले खेलमा अग्रता दोब्बर बनाएको थियो । लुकासको क्रसमा रोड्रिगोले हानेको प्रहार बचाउने क्रममा हकिमीले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।

इन्टर मिलानले खेल अवधिभर रियलको पोस्टमा गतिलो प्रहार गर्न सकेन । बाँकी समयमा थप गोल हुन नसकेपछि रियल म्याड्रिड २-० गोल अन्तरले विजयी भएको हो । जितसँगै रियल म्याड्रिड अन्तिम १६ को प्रवेशमा थप बलियो बनेको छ । समुहचरण अन्तर्गत चौथो चरणको खेल सकिदा रियल म्याड्रिड ४ खेलमा ७ अङ्क जोड्दै दोस्रो स्थानमा रहेको छ ।

पराजित इन्टर मिलानको लागि अन्तिम १६ प्रवेश थप कठिन बनेको छ । ४ खेलमा जित निकाल्न नसकेको इन्टर २ अङ्क जोड्दै तालिकाको पुछारमा छ । यस्तै बोरुसिया मोन्चेनग्लाडबाक ८ अङ्क सहित शिर्ष स्थानमा रहँदा शात्खर डोनेटेक्स ४ अङ्कको साथ तेस्रो स्थानमा रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *