काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता गरी संस्थालाई आर्थिक हानि पु¥याएको आरोपमा पाँच जना पक्राउ परेका छन् ।
नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट प्राप्त रेडक्रस सोसाइटीसम्बन्धी अनियमितता छानबिन प्रतिवेदन अध्ययनका क्रममा जग्गा खरिदमा ठगी भएको खुलेपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरूलाई पक्राउ गरेको हो ।
रेडक्रसको गोदाम घर सञ्चालनका लागि भक्तपुरमा ५–१३–३–० क्षेत्रफलको जग्गा खरिद गर्ने क्रममा बोलपत्रमा उल्लेखित सर्तविपरीत बिचौलियामार्फत खरिद गरी ६ करोड ३२ लाख ८१ हजार २५० रुपैयाँ भुक्तानी गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उक्त रकममध्ये १ करोड ९३ लाख ७५० रुपैयाँ बिचौलियाले लिएको पाइएको छ । यस्तै, नापी कार्यालय भक्तपुरबाट जग्गाको क्षेत्रफल यकिन गराउँदा कागजातमा उल्लेख भएकोभन्दा कम अर्थात् फिल्डमा ५–६–२–१ क्षेत्रफल मात्रै रहेको पाइएको छ ।
रेडक्रसका तत्कालीन पदाधिकारी तथा कर्मचारीले बिचौलियामार्फत जग्गा खरिद गरी संस्थालाई आर्थिक हानि–नोक्सानी पु¥याएको आरोपमा भक्तपुर जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर पाँच जनालाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
पक्राउ पर्नेमा भक्तपुर मध्यपुरथिमी–३ का ५२ वर्षीय राजेश देशमरु, नुवाकोट समुन्द्रटार–६ स्थायी ठेगाना भई काठमाडौं–२६ बस्ने ५७ वर्षीय उमेशप्रसाद ढकाल, भक्तपुर चाँगुनारायण–५ का ५८ वर्षीय मदनकृष्ण फोजु, उदयपुर कटारी–३ स्थायी ठेगाना भई भक्तपुर मध्यपुरथिमी–१ बस्ने ७० वर्षीय सञ्जीव थापा र काठमाडौं–१६ बालाजुका ६७ वर्षीय इन्द्रबहादुर केसी छन् ।
पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको सीआईबीले जनाएको छ ।
