रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, स्थानीय निर्वाचनको तयारी मुख्य एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय निर्वाचनको तयारीलाई तीव्रता दिने भएको छ । यसैक्रममा पार्टी सभापति रवि लामिछानेले आगामी भदौ ५ गते शुक्रबार केन्द्रीय समिति बैठक बोलाएका छन् ।

वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने बैठकमा स्थानीय निर्वाचन केन्द्रित विभिन्न विषयमा छलफल हुने रास्वपाले जनाएको छ ।

बैठकमा ‘स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३’ अनुमोदन गर्ने प्रस्ताव प्रमुख एजेन्डाका रूपमा राखिएको छ । साथै, ‘राइट टु रिकल’ सम्बन्धी दस्ताबेज निर्माणबारे पनि छलफल हुने बताइएको छ ।

महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठकले पदाधिकारी, केन्द्रीय समिति सदस्य, सचिवालय सदस्य तथा विभागीय प्रमुखहरूको मनोनयनसम्बन्धी विषयमा समेत निर्णय गर्नेछ । स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समितिका सदस्य मनोनयन गर्ने प्रस्ताव पनि बैठकमा पेस हुनेछ ।

त्यसैगरी स्थानीय तहमा उम्मेदवार छनोटसम्बन्धी रूपरेखाबारे केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्य नेतृत्वलाई अभिमुखीकरण र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने विषयमा पनि छलफल हुने सम्भावित कार्यसूची तय गरिएको छ ।

स्थानीय निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार, उम्मेदवार छनोट र निर्वाचन रणनीतिलाई व्यवस्थित बनाउने उद्देश्यले बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *