कार्भेट लेविनको दुई गोलमा एभर्टन विजयी

प्रज्जवल थापा । डोमिनिक कार्भेट लेविनले आफ्नो उच्च फर्मलाई निरन्तरता दिँदा इङलिस प्रिमियर लिगमा एभर्टन विजयी भएको छ । आइतबार बेलुकी भएको खेलमा एभर्टनले फुल्हामलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

क्राभेन कटेजमा भएको खेलमा एभर्टनलाई जित दिलाउन डोमिनिक कार्भेट लेविनले दुई गोल गर्दा अब्डोउलाए डोउकोरेले एक गोल गरे । फुल्हामको लागि बोबि रेड र रुबेन लोफ्टुस् चेकले एक-एक गोल गरेपनी जितको लागि पर्याप्त भएन । एभर्टनले खेलको पहिलो मिनेटमै कार्भेट लेविनको गोलमा अग्रता लिएको थियो ।

१५ औँ मिनेटमा टोम कार्नेको पासमा बोबि रेडले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काएका थिए । २९ औँ मिनेटमा लुकास डिग्नेको पासमा लेविनले व्यक्तिगत दोस्रो गोल गर्दै एभर्टनलाई फेरि अग्रता दिलाए । ३५ औँ मिनेटमा डिग्नेको पासमा डोउकोरेले गोल गर्दै एभर्टनको अग्रता दोब्बर बनाएका थिए ।

६८ औँ मिनेटमा फुल्हामले बराबरी गर्ने मौका गुमायो । पेनाल्टी बक्समा बेन गोड्फ्रेले फवल गरेपछि पाएको पेनाल्टीमा इभान काबालेरो गोल गर्नबाट चुके । तर ७० औँ मिनेटमा लुकमेनको पासमा लोफ्टुस चेकले गोल गर्दै घरेलु टोलीलाई ३-२ गोलको स्थितिमा ल्याएका थिए । बाँकी समयमा थप गोल गर्न नसक्दा फुल्हाम हार बेहोर्न बाध्य भयो ।

जितसँगै एभर्टन ९ खेलमा १६ अङ्क जोड्दै छैटौँ स्थानमा उक्लिएको छ । पराजित फुल्हाम ९ खेलमा ४ अङ्क सहित १७ औँ स्थानमा यथावत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *