इमरान खानलाई ४८ घण्टाभित्र अस्पताल लैजान पाकिस्तानी सर्वोच्च अदालतको आदेश

इस्लामाबाद ।  पाकिस्तानको सर्वोच्च अदालतले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानलाई ४८ घण्टाभित्र अस्पतालमा स्थानान्तरण गर्न आदेश दिएको छ।

अदालतले स्वास्थ्य परीक्षण तथा उपचारका लागि मेडिकल बोर्ड गठन गर्नसमेत आदेश दिएको छ। इमरानलाई शिफा इन्टरनेसनल अस्पतालमा लैजान अदालतले निर्देशन दिएको हो।

मंगलबार सुनुवाइका क्रममा अदालतले इमरानलाई उनकी बहिनीहरूसँग भेट्न नदिएको विषयमा पनि प्रश्न उठाएको छ। न्यायाधीश शाहिद वहीदले बहिनीहरूसँग भेट्न दिनु कुनै उपकार नभई इमरानको मौलिक अधिकार भएको बताएका छन्।

अदालतले पछिल्लो तीन वर्षमा इमरान र उनकी बहिनीबीच भएका सबै भेटघाटको विवरण मागेको छ। उनका छोराहरूसँग भएको कुराकानी तथा फोन कलको विवरणसमेत उपलब्ध गराउन आदेश दिइएको छ।

तीन सदस्यीय इजलासले इमरानको उपचार तथा परिवारसँगको भेटघाटसम्बन्धी निवेदनमाथि सुनुवाइ गरेको हो। इजलासको नेतृत्व न्यायाधीश शाहिद वहीदले गरेका थिए। इजलासमा न्यायाधीश नईम अख्तर अफगान र न्यायाधीश इश्तियाक इब्राहिम पनि थिए।

अदालत असन्तुष्ट

सुनुवाइका क्रममा सर्वोच्च अदालतले अडियाला जेल प्रशासनसँग इमरानको पूर्ण मेडिकल रिपोर्ट मागेको थियो। जेल प्रशासनले विस्तृत रिपोर्टको सट्टा संक्षिप्त विवरण मात्रै पेस गरेको भन्दै न्यायाधीश वहीदले असन्तुष्टि जनाए।

जेल प्रशासनको रिपोर्टमा इमरानको पल्स र मुटुको अवस्थाबारे चिन्ता व्यक्त गरिएको थियो। उनको एन्जियोग्राफी गर्नुपर्ने सुझावसमेत रिपोर्टमा उल्लेख थियो। इस्लामाबादका एडभोकेट जनरलले एन्जियोग्राफी जेलबाहिर अस्पतालमा गर्न सकिने जानकारी अदालतलाई दिएका थिए।

इमरानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का वकिलले उनको शरीरमा देखिएको रगत जम्ने समस्याको कारण पत्ता लगाउन तथा निजी चिकित्सकबाट समेत स्वास्थ्य परीक्षण गराउन माग गरेका थिए।

अदालतले भने इमरानको स्वास्थ्यलाई राजनीतिक मुद्दा नबनाउन पीटीआईलाई आग्रह गरेको छ। भेटघाटपछि पार्टी नेता तथा परिवारका सदस्यले सञ्चारमाध्यममा दिने अभिव्यक्तिबारे पनि अदालतले प्रश्न उठाएको थियो।

निजी चिकित्सकसहित मेडिकल बोर्ड गठन हुने

सर्वोच्च अदालतले इमरानको स्वास्थ्य परीक्षणका लागि विशेषज्ञ चिकित्सक सम्मिलित मेडिकल बोर्ड गठन गर्न आदेश दिएको छ। बोर्डमा इमरानकी बहिनी डा. उज्मा खान र उनका निजी चिकित्सकलाई समेत सहभागी गराउन अदालतले निर्देशन दिएको छ। बोर्डले इमरानको सम्पूर्ण स्वास्थ्य परीक्षण गर्नुका साथै विगतका मेडिकल रिपोर्टको अध्ययन गर्नेछ।

बोर्डले उनको स्वास्थ्य समस्या, शरीरमा रगत जम्नुको कारण तथा सम्भावित जोखिमबारे अध्ययन गरी आवश्यक उपचारबारे सुझाव दिनेछ। साथै उपचार जेलमै सम्भव छ वा अस्पतालमै भर्ना गर्नुपर्ने हो भन्ने विषयमा पनि बोर्डले निष्कर्ष दिनेछ।

आँखाको समस्या रहेको रिपोर्ट

अडियाला जेलका सुपरिटेन्डेन्टले सोमबार सर्वोच्च अदालतमा इमरानको दुई पृष्ठको मेडिकल रिपोर्ट पेस गरेका थिए। रिपोर्टमा उनको आँखामा ‘सेन्ट्रल रेटिनल भेन अक्लुजन’ नामक समस्या रहेको उल्लेख छ।

रिपोर्टअनुसार उक्त समस्याको उपचार भइरहेको छ र प्रभावित आँखाको दृष्टि लगभग सामान्य अवस्थामा फर्किएको छ। रिपोर्टमा सन् २०२३ नोभेम्बर ४ देखि २०२६ अगस्ट १० सम्म इमरानको ३९ पटक स्वास्थ्य परीक्षण गरिएको उल्लेख छ।

चार वर्षदेखि जेलमा

७३ वर्षीय इमरान खान सन् २०२३ अगस्टदेखि जेलमा छन्। उनलाई सुरुमा तोशाखाना मुद्दामा तीन वर्षको सजाय सुनाइएपछि पक्राउ गरिएको थियो।

त्यसपछि उनीविरुद्ध सिफर, अल–कादिर ट्रस्ट र इद्दत निकाहलगायतका मुद्दा दायर भएका थिए। सिफर र इद्दत निकाह मुद्दामा उनले अदालतबाट राहत पाइसकेका छन् भने तोशाखाना मुद्दाको सजायसमेत रोकिएको थियो। तर अन्य मुद्दाका कारण उनी अझै जेलमै छन्।

इमरान खान र उनको पार्टी पीटीआईले सन् २०२२ मा प्रधानमन्त्री पदबाट हटेपछि आफूविरुद्ध राजनीतिक प्रतिशोधका कारण मुद्दा लगाइएको दाबी गर्दै आएका छन्। उनीहरूले इमरानलाई राजनीति र निर्वाचनबाट टाढा राख्न मुद्दा चलाइएको आरोप लगाएका छन्।

पाकिस्तान सरकार र अनुसन्धान निकायहरूले भने उक्त आरोप अस्वीकार गर्दै मुद्दाहरू कानुनी प्रक्रियाअनुसार अघि बढिरहेको बताउँदै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *