मुलतान । मध्य पाकिस्तानको पञ्जाब प्रान्तमा मङ्गलबार बिहान एउटा यात्रुवाहक रेल लिकबाट खस्दा कम्तीमा चार जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।
रेलवेका प्रवक्ता कलीम अख्तरका अनुसार दक्षिणी बन्दरगाह सहर कराँचीबाट उत्तरपश्चिमी सहर पेशावरतर्फ गइरहेको रेल सेर शाह सहरनजिक दुर्घटनामा परेको हो।
दुर्घटनालगत्तै परिचालन गरिएका उद्धारकर्मीहरूले रेलका १४ वटा डिब्बाबाट यात्रुहरूलाई सुरक्षित बाहिर निकालेका थिए। घाइतेहरूलाई उद्धार गरी तत्काल उपचारका लागि स्थानीय अस्पताल पुर्याइएको छ।
दुर्घटनाप्रति पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी र प्रधानमन्त्री शाहबाज सरिफले छुट्टाछुट्टै वक्तव्यमार्फत गहिरो दुःख व्यक्त गरेका छन्। उनीहरूले घाइतेहरूलाई उचित र गुणस्तरीय उपचारको प्रबन्ध मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
दशकौंदेखिको न्यून लगानी, पुराना रेलमार्ग र जीर्ण सङ्केत (सिग्नल) प्रणालीका कारण पाकिस्तानमा बारम्बार रेल दुर्घटना हुने गरेका छन्।
यसअघि सन् २०२३ मा पनि दक्षिणी पाकिस्तानमा यात्रुवाहक रेल लिकबाट खस्दा ३० जनाको मृत्यु हुनुका साथै ९० भन्दा बढी घाइते भएका थिए।
