बार्सिलोनाको सानदार जित

प्रज्जवल थापा । स्पेनिस लिग ला लिगामा बार्सिलोनाले सानदार जित निकालेको छ । शनिबार राती भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदान क्याम नोउमा भएको बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई, औस्माने डेम्बेले, एन्टोइन ग्रिज्मन र पेड्रीले एक-एक गोल गरे । बेटिसको लागि एन्टोनियो सानाब्रिया र लोरेन मोरोनले गोल गरे । पहिलो हाफमा मात्र एक गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा चार गोल थपेको थियो । कप्तान लियोनल मेस्सीबिना मैदानमा उत्रिएको बार्सिलोनाले २२ औँ मिनेटमा डेम्बेलेको गोलमा अग्रता लिएको थियो ।

३३ औँ मिनेटमा ग्रिज्मनले अग्रता दोब्बर बनाउने मौका गुमाए । फातीलाई पेनाल्टी क्षेत्रमा लडाएपछी पाएको पेनाल्टीमा ग्रिज्मन गोल गर्नबाट चुके । पहिलो हाफको अतिरिक्त समयमा एन्टोनियो सानाब्रियाले गोल गर्दै बेटिसलाई बराबरीमा ल्याएका थिए । बेटिसले दोस्रो हाफमा सम्मालिन नसक्दा चाल गोल बेहोर्यो ।

४९ औँ मिनेटमा जोर्डी अल्बाको पासना ग्रिज्मनले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए । ६० औँ मिनेटमा एल्सा मान्डी रातो कार्ड खाएर मैदान बाहिरिएपछी बेटिस १० खेलाडीमा सिमित भएको थियो । मान्डीले हेन्ड गरेपछि पाएको खेलको दोस्रो पेनाल्टीमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई ३-१ गोलले बढाए । मेस्सी दोस्रो हाफमा फातीको स्थानमा मैदान प्रवेश गरेका थिए ।

७३ औँ मिनेटमा एलेक्स मोरेनोको पासमा लोरेन मोरोनले गोल गर्दै बेटिसलाई ३-२ को स्थितिमा ल्याए । तर ८२ औँ मिनेटमा रोबेट्रोको पासमा लियोनल मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई फराकिलो जिततर्फ अग्रसर गराए । ९० औँ मिनेटमा सेर्जी रोबेट्रोको पासमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई सानदार जित दिलाए ।

जितसँगै बार्सिलोना ७ खेलमा ११ अङ्क जोड्दै तालिकाको आठौँ स्थानमा उक्लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *