इन्डियन प्रिमियर लिग(आइपीएल)मा रोयल च्यालेञ्जर्स बैंग्लोरलाई ६ विकेटले पराजित गर्दै सनराइजर्स हैदरावाद क्वालिफायर्समा प्रवेश गरेको छ । अब हैदरावादले फाइनल प्रवेशका लागि दिल्ली क्यापिटल्र्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । टस हारेर पहिला ब्याटिङ गरेको बैंग्लोरले निर्धारित ओभरमा ७ विकेट गुमाएर १३१ रन बनायो ।
खराब शुरुवात गरेको बैंग्लोरले सात रन हुँदा कप्तान विराट कोहलीको विकेट गुमाएको थियो । कोहली ६ रन बनाएर आउट भए । त्यसपछि १५ रन पुगेका बेला देवदत्त पडिक्कल आउट हुन पुगे । उनी एक रन बनाएर पभेलियनको बाटो लागे । त्यसपछि आरोन फिन्च र एवि डिभिलियर्सले वैंग्लोरको पारी सम्हालेका थिए । टिमको स्कोर ५६ रन भएका बेला फिन्च आउट हुन पुगे ।
उनले ३२ रनको योगदान गरेका थिए । ३० बलमा तीन चौका र एक छक्का प्रहार गरे । मोइन अली खाता नै नखोली रन आउट भएका थिए । उनी आउट हुँदा बैंग्लोरको स्कोर ४–६२ रहेको थियो । शिबम दुवेले पनि ठूलो पारी खेल्न सकेनन् । ८ रन बनाएर उनी आउट हुँदा १३ बल फेस गरेका थिए । एवि डिभिलियर्सले भने बैंग्लोरका लागि अर्धशतकीय पारि खेले ।
५६ रन बनाएका एबीले ४३ बलमा ५ चौका प्रहार गरे । वासिंगटन सुन्दर पाँच रनमा आउट हुँदा अन्तिमसम्म क्रिजमा टिकेका मोहमद सिराजले १० तथा नवदीप सैनीले ९ रनको अभिजित पारि खेले । जेशन होल्डरले तीन तथा टी नटराजनले २ विकेट लिए । आजको विजेताले फाइनल प्रवेशका लागि दिल्ली क्यापिटल्ससँग खेल्ने छ । जवाफमा हैदरावादले १९ ओभर चार बलमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । खराव सुरुवात गरेको हैदरावादले मात्र दुई रनमा पहिलो विकेट गुमायो ।
उसका ओपनर श्रीभाट्स ग्वस्वामीले खाता खोल्न सकेनन् । त्यसपपछि ४३ रनमा दोस्रो विकेट गुमाएको हैदरावादले ५५ रनमा तेस्रो विकेट खेर फाल्यो । त्यसपछि ६७ रनमा चौथो विकेट गुमायो । हैदरावादका लागि डेविड वार्नरले १७ रन बनाए भने मनिश पाण्डेले २४ रनको योगदान गरे । यस्तै प्रियम गार्ग सात रनमा आउट भए । हैदरावादको जितमा केन विलियम्सनले अर्धशतकीय पारी खेले । उनले ५० रन बनाए भने जेसोन होल्डरले अविजीत २४ रनको योगदान गरे । हारपछि विराट कोहलीको टिम बैग्लोर प्रतियोगिताबाट बाहिरिएको छ ।