प्रज्जवल थापा । इन्डियन प्रिमियर लिग(आईपिएल) को पहिलो क्वालिफायरमा आज मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स भिड्दै छन् । खेल नेपाली समयअनुसार बेलुकी ७:४५ बजे शुरु हुनेछ ।
आज दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल जित्ने टोली सिधैँ फाइनलमा प्रवेश गर्नेछ । पराजित हुने टोलीले क्वालिफायर-२ मा इलिमिनेटरको विजेतासँग खेल्नेछ । शुक्रवार हुने इलिमिनेटरमा सनराइजर्स हैरबाद र रोयल च्यालेन्जर्स बैंगलोर भिड्नेछन् ।
मुन्बई आईपिएल इतिहासको सार्वधिक सफल टिम हो । अहिलेसम्म मुम्बईले चार पटक उपाधी जितिसकेको छ । दिल्ली भने अहिलेसम्म फाइनल पुग्न सकेको छैन । मुम्बईलाई हराउँदै दिल्ली पहिलोपटक फाइनल पुग्ने प्रयासमा हुनेछ । तर समूह चरणको दुवै खेलमा मुम्बईले दिल्लीलाई पराजित गरेको कारण पनि मुम्बईको मनोबल उच्च छ।
मुम्बईले समुह चरणको १४ खेलमा ९ जित र ५ हार बेहोर्दै १८ अङ्कको साथ शिर्ष स्थानमा रहेर क्वालिफायर पुगेको थियो । दिल्ली १४ खेलमा ८ जित र ६ हार सहित १६ अङ्क जोड्दै दोस्रो स्थानमा रहेको थियो ।
