पिएसजी र म्यान्चेस्टर युनाइटेड पराजित

प्रज्जवल थापा । च्याम्पियन्स लिगमा दुई ठुला क्लब म्यान्चेस्टर युनाइटेड र पेरिस सेन्ट जर्मन(पिएसजी) पराजित भएका छन् । समूह ‘एच’ अन्तर्गत बुधबार राती भएको खेलमा इङलिस क्लब म्यान्चेस्टर युनाइटेड इस्तानबुल बेसाकसेहिरसँग २-१ गोलले पराजित भएको हो ।

इस्तानबुलको जितमा डेम्बा बा र इडिन भिस्कोले गोल गरे । युनाइटेडको लागि एन्थोनी मार्सियलले गरेको गोल सान्त्वना बन्यो । खेलको १३ औँ मिनेटमा एडिन भिस्काको पासमा बाले गोल गर्दै इस्तनबुललाई खेलमा अगाडी बढाएका थिए । ४० औँ मिनेटमा भिस्काले गोल गर्दै इस्तानबुलको अग्रता दोब्बर बनाए ।

४३ औँ मिनेटमा लुके शहको पासमा एन्थोनी मार्सियलले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काउने संकेत गरेका थिए । तर थप समयमा गोल गर्न नसक्दा युनाइटेड हार बेहोर्न बाध्य भयो ।

सोही समुहको अर्को खेलमा लाइप्जिगले फ्रेन्च च्याम्पियन पिएसजीलाई २-१ गोलले पराजित गर्यो । लाइप्जिगको जितमा क्रिस्टोफोर एनकुकु र इमिल फोर्सवर्गले एक- एक गोल गरे । पिएसजीको लागि एन्जल डि मारियाले गोल गरे ।

खेलमा सुरुवाती गोल गरेको पिएसजीले अग्रता जोगाउन नसक्दा हार बेहोर्न बाध्य भयो । खेलको छैटौँ मिनेटमा मोइन किनको पासमा डि मारियाले गोल गर्दै पिएसजीलाई खेलमा अगाडी बढाएका थिए । ४२ औँ मिनेटमा क्रिस्टोफोर एनकुकुले गोल गर्दै लाइप्जिगलाई बराबरीमा ल्याए ।

५७ औँ मिनेटमा इमिल फोर्सवर्गले पेनाल्टीमा गोल गर्दै लाइप्जिगलाई अग्रता दिलाए । थपसमयमा दुवै टोलीबाट गोल हुन नसक्दा लाइप्जिग विजयी भएको हो । हारका बाबजुद युनाइटेड ३ खेलमा ६ अङ्क जोड्दै शिर्ष स्थानमा यथावत छ । लाइप्जिग ३ खेलमा ६ अङ्क जोड्दै गोल अन्तरको आधारमा दोस्रो स्थानामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *