काठमाडौँ । नेपालको सत्ता राजनीतिमा प्रभाव पार्ने उद्देश्यले हिजो अकस्मात काठमाडौँ आइपुगेका भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ)का प्रमुख सामन्तकुमार गोयल महत्त्वपूर्ण राजनीतिक भेटघाट गरी आज बिहान स्वदेश फर्किएका छन् । भारतीय सेनाको विशेष विमानमार्फत बुधबार काठमाडौै उत्रिएका गोयल बिहीबार बिहान १० बजेर पाँच मिनेटमा फर्किएका हुन् ।
गोयलले बुधबार राति नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग सरकारी निवास बालुवाटारमा भेटवार्ता गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पुष्टि गरेका छन् । भेटका क्रममा उनले नेपाल भारतबीचकाे मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूकाे वार्ताद्वारा समाधान गर्ने र पारस्परिकक सहयाेगलाई निरन्तर अगाडि बढाउने विषयमा धारणा राखेकाे सल्लाहकार थापाले बताएका छन् ।
प्रेस नोटभारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले सम्माननीय प्रधानमन्त्री…
Posted by Prime Minister's Press Advisor on Thursday, October 22, 2020
करिब दुई घण्टा लामो भेटमा भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेको कात्तिकमा हुने भनिएको नेपाल भ्रमणका बेला हुनसक्ने विरोध कार्यक्रमका बारेमा छलफल भएको स्राेतले नेपाल समाजलाई बतायाे । भारतीय पक्षले सेनाध्यक्षको भ्रमणका बेला विरोध कार्यक्रम भए सह्य नहुने आशय व्यक्त गरेको थियो ।
नेपाल बसाइका क्रममा गोयलले पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल तथा डा. बाबुराम भट्टराईसँग बेग्लाबेग्लै भेट गरेका थिए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग पनि एक्लै भेटेको केही बेरमै उर्जामन्त्री वर्षामान पुन र नेता टोपबहादुर रायमाझी छलफलमा सहभागी भएका थिए ।
गोयलले जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्ष तहका नेता उपेन्द्र यादव, महन्त ठाकुर र राजेन्द्र महतोसँग संयुक्तरुपमा भेट गरेका थिए ।
सत्तारुढ नेकपाका र विपक्षी जसपाका वरिष्ठ नेताहरुसँग हाेटल द्वारिकामा भेटेका गोयलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भने महाराजगंजमा गएर भेटेका थिए । देउवासँगकाे भेटमा नेता सशांक काेइराला पनि सँगै रहेकाे स्राेतले नेपाल समाजलाई बतायो ।
प्रधानमन्त्री कार्यालयबाट जारी प्रेस नाेटबाहेक बाँकी सबैले गाेयलकाे नेपाल भ्रमण र भेटघाटकाे विषय गाेप्य राखेका छन् ।
नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरेपछि दुबै देशबीच कूटनीतिक मौनता रहेका बेला काठमाडौंमा एकाएक भारतीय गुप्तचर अधिकारीहरु सक्रिय भएका थिए ।
