बीबीसी । फ्रान्सको दक्षिणपश्चिमी बोर्डो सहरनजिक फैलिएको भीषण डढेलो सहरबाट करिब १५ किलोमिटर दूरीमा पुगेपछि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाएको छ । थप स्थान खाली गराउनुपर्ने अवस्था आए ठूलो संख्यामा सर्वसाधारणलाई आश्रय दिन तयारी गरिएको बोर्डोका मेयर थोमस काजेनाभले बताएका छन्।
गिरोन्द क्षेत्रमा डढेलोको निरीक्षण गरेका फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले देशले दोस्रो विश्वयुद्धयताकै सबैभन्दा कठिन डढेलो सामना गरिरहेको बताएका छन्। उनका अनुसार अहिलेको आगलागी ‘पूर्ण रूपमा अभूतपूर्व’ प्रकृतिको छ।
फ्रान्समा हालसम्म २ लाख २० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। यस्तै, स्पेनको राजधानी म्याड्रिडको पश्चिम क्षेत्रमा नियन्त्रणबाहिर फैलिएको डढेलोका कारण १ लाखभन्दा बढी मानिस विस्थापित भएका छन्।
अधिकारीहरूले मंगलबार फेरि अत्यधिक गर्मी बढ्ने पूर्वानुमानका कारण डढेलो नियन्त्रणमा थप कठिनाइ आउन सक्ने बताएका छन्। म्याक्रोंका अनुसार लान्द क्षेत्रको एउटा डढेलो नियन्त्रणमा आए पनि छिमेकी गिरोन्द क्षेत्रमा आगो निभाउने प्रयास जारी छ।
फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजले आगोले ‘आफ्नै गति र स्वरूप’ लिइसकेको भन्दै नियन्त्रण चुनौतीपूर्ण बनेको बताएका छन्।
बोर्डोको दक्षिणस्थित सेस्तास नगरका मेयर जेरोम स्टेफेले यसलाई “यो शताब्दीकै डढेलो“ को संज्ञा दिएका छन्। उनका अनुसार दुई दिनअघि आगो तीव्र रूपमा फैलिएपछि १७ हजार स्थानीयवासीलाई रातारात सुरक्षित स्थानमा सारिएको थियो।
हालसम्म प्रभावित क्षेत्रमा ४२ हजार हेक्टरभन्दा बढी वन तथा जमिन जलेको, २४० घर पूर्ण रूपमा नष्ट भएको र अवस्था अत्यन्त गम्भीर रहेको उनले बताएका छन्। आगोको फैलावट केही सुस्त भए पनि हावाको दिशा परिवर्तन र उड्ने झिल्काका कारण जोखिम अझै कायम रहेको उनको भनाइ छ।
फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले जनवरीयता देशभर १ लाख १६ हजार हेक्टरभन्दा बढी क्षेत्र डढेलोबाट प्रभावित भएको र १३ हजार ५६६ वटा आगलागीका घटना दर्ता भएको जानकारी दिएका छन्।
उनका अनुसार १० मध्ये ९ वटा डढेलो मानवीय लापरबाहीका कारण लागेका हुन्।
चुरोटको ठुटो, बार्बेक्यु तथा सावधानी नअपनाई गरिने काम मुख्य कारण रहेको उनले बताएका छन्। साथै, केही आगलागी नियोजित रूपमा लगाइएको भन्दै जुलाई ६ यता १६२ जना पक्राउ परिसकेको जानकारी दिएका छन्।
हाल गिरोन्द, लान्द, भार तथा कोर्सिका टापुसहित फ्रान्सका विभिन्न क्षेत्रमा डढेलो नियन्त्रणका लागि हजारौं अग्निनियन्त्रक परिचालन गरिएका छन्।
