अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प कोरोनाभाइरस सङ्क्रमण भएर भर्ना भएको वाशिङ्टन डीसीनजिकैको अस्पतालबाहिर तथा देशका विभिन्न स्थानमा समर्थकहरू भेला भएर उनलाई स्वास्थलाभको कामना गरेका छन् । ट्रम्पलाई कोभिड १९ भएको गत शुक्रवार पुष्टि गरिएको थियो ।
त्यही साँझ उनलाई विमानमा उपचारका लागि वाल्टर रीड न्याश्नल मिलिटरी हस्पिटल लगिएको थियो । उनको स्वास्थ्य टोलीले ट्रम्पको स्वास्थ्यमा उल्लेख्य सुधार आएको तर ढुक्क हुने अवस्था अझै नआएको शनिवार अबेर बताएको थियो । अमेरिकामा आगामी नोभेम्बर महिनामा राष्ट्रपतीय निर्वाचन हुँदैछ।
ट्रम्प निर्वाचनको प्रचारप्रसारमा सक्रिय थिए । ट्रम्प बसेको अस्पतालबाहिर विरोधीहरू पनि भेला भएका थिए । शनिवार देशका विभिन्न स्थानमा र्यालीहरू आयोजित भए। तिनमा सहभागीहरूले ट्रम्प चाँडो निको होऊन् भनेर कामना गरेका छन् । क्यालिफोर्नियामा उनको समर्थनमा कार र्याली निकालिएको थियो ।
फ्लोरिडामा त समर्थकहरूले अझ डुङ्गा र्याली नै निकालेका थिए । न्यूयोर्कको स्ट्याटन आईलन्डमा पनि समर्थकहरू भेला भएका थिए । ट्रम्पलाई सङ्क्रमण पुष्टि हुनुअघि त्यहाँ र्यालीको आयोजना गरिएको थियो ।


