काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजको खेलमा आज नेपाल र क्यानडा भिड्दैछन् । अल अमेराट क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान ११:१५ बजे शुरु हुनेछ ।
दुवै टोलीको शीर्ष चारमा पुग्ने सम्भावना समाप्त भइसकेका छ । अब नेपाल र क्यानडा विश्वकप प्लेअफमा पुग्ने लक्ष्यमा रहेका छन् । त्यसको लागि दुवै टोलीलाई बाँकी सबै खेलमा जित आवश्यक रहेको छ ।
हाल क्यानडा ३३ खेलबाट २५ अंक जोड्दै अंक तालिकाको छैटौँ स्थानमा रहेको छ भने एक खेल कम खेलेको नेपाल २४ अंकको साथ सातौँ स्थानमा रहेको छ । दुवै टोलीले आफ्नो पछिल्लो चार खेलमा जित निकाल्न सकेका छैनन् ।
नेपाल र क्यानडावीच भएको पछिल्लो पाँच खेलमा नेपालले तीन खेल जित्दा क्यानडाले दुई खेल जितेको छ । सन् २०२४ मा क्यानडामा भएको दुवै खेलमा पराजित भएको नेपाल आज उक्त खेलको बदला लिने लक्ष्यसहित मैदान उत्रिनेछ ।
