नागरिक जोगाउनु सरकारको पहिलो दायित्वः पूर्वमन्त्री बाँस्कोटा

काभ्रे । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कोरोना भाइरसको महामारीबाट नागरिक जोगाउनु सरकारको पहिलो दायित्व भएको बताएका छन् । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ स्थित नेकपा वडा कमिटीद्वारा आयोजित कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रममा उनले सरकारले वर्तमान परिस्थितिमा आफ्ना नागरिक जोगाउनु पहिलो प्राथमिकता भएको बताएका हुन् ।

“महामारीमा सरकारले पहिला नागरिक जोगाउनुपर्छ, त्यसपछि विकासको कामलाई निरन्तरता दिइन्छ, तै पनि विकास त निरन्तर छ नै, विकास नागरिकलाई चाहिने हो, नागरिक नै नरहे विकास के का लागि ?” बाँस्कोटाले प्रश्न गरे ।

बाँस्कोटाले पाँच वर्षमै ‘धुरन्धर’ विकास हुने हो भने निर्वाचन तथा तीन तहका सरकार र जनप्रतिनिधि आवश्यक नपर्ने भनदै विकास नयाँनयाँ प्रविधिसहित निरन्तर भइरहने विषय भएको बताए । बाँस्कोटाले पर्यटनको विकासका लागि बनेपामा आन्तरिक विमानस्थलको काम अघि बढिरहेको बताए ।

उनले नेकपामा उचित व्यक्तिलाई उचित स्थान दिँदै पार्टी निर्माण प्रक्रिया भावना र मर्मअनुसार चलिरहेको दाबी गरे । “सरकारका आलोचकलाई हाल सञ्चालन भइरहेका र शुरु भएका दीर्घकालीन राष्ट्रिय महत्वका आयोजनाले गतिलो जवाफ दिइरहेको छ”, उनले भने । सो अवसरमा उनले नेपाली काँग्रेस पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्नेलाई सदस्यता प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *