काठमाडौं । तेस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा काठमाडौं गोर्खाजले लगातार तेस्रो जित निकालेको छ । शनिबार बेलुकी भएको खेलमा काठमाडौंले लुम्बिनी लायन्सलाई ३६ रनले पराजित गरेको हो । लुम्बिनीको जारी प्रतियोगितामा यो पहिलो हार हो ।
जितको लागि १ सय ६१ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी १९.३ ओभरमा अलआउट हुँदै १ सय २४ रनमा समेटिएको हो । ४.३ ओभरमा २८ रन जोड्दा ६ विकेट गुमाएको लुम्बिनीलाई सन्दीप जोराले संघर्षपूर्ण ब्याटिङ गर्दा टोलीले सम्मानजनक स्कोर बनाउन सफल भएको हो । सन्दीप जोराले सर्वाधिक ४४ रन बनाए । उनले ४५ बलमा ३ चौका प्रहार गरे । यस्तै अभिशेस गौतमले १६, निरोसन डिकवेलाले १४, शेर मल्लले १२ र रुबिन ट्रम्पलम्यानले ११ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
काठमाडौंको लागि जहान्दाद खानले ४ ओभरमा २३ रन दिएर ४ विकेट लिँदा करण केसीले दुई तथा शहाब आलम, सन्तोष यादव, रसिद खान र शाहन अराच्चिगेले समान एक/एक विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६० रन बनाएको थियो । काठमाडौंको लागि डेभिड वार्नरले अर्धसतक बनाए । उनले ५० बलमा ९ चौका र १ छक्काको मद्दतमा ६६ रन बनाए । यस्तै सहिल पटेलले ३६ बलमा २ चौका र २ छक्काको मद्दतमा ३८ रन बनाउँदा सहान अराच्चिगेले नटआउट ३४ रन बनाए ।
लुम्बिनीको लागि रुबिन ट्रम्प्लम्यान, शेर मल्ल र अभिशेष गौतमले समान २/२ विकेट लिए ।
जितसँगै काठमाडौं ४ खेलबाट ६ अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । एक खेल बढि खेलेको लुम्बिनी ७ अंकको साट्न शीर्ष स्थानमा यथावत रहेको छ ।
