USAID

धुलिखेल, बुटवल, धरान, विराटनगरमा गरी थप पाँच संक्रमितको मृत्यु


काठमाडाैँ । कोरोना भाइरस संक्रमणबाट नेपालमा थप पाँच जनाको ज्यान गएको छ । हिजो साँझदेखि आज बिहानसम्ममा कोरोना कारण पाँच जनाको मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएका बर्दिबासका ७६ वर्षीय पुरुषको धुलिखेल अस्पतालमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या भएपछि १५ दिनअघि अस्पताल भर्ना गरिएका उनको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।

मोरङको विराटनगर महानगरपालिका ४ बस्ने ६४ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ । कोशी अस्पताल बिराटनगरमा उपचारको क्रम्ममा गए राति उनको मृत्यु भएको भएको प्रहरीले जनाएको छ ।

यस्तै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना विशेष अस्पतालमा पनि एक ४३ वर्षीया महिलाको मृत्यु भएको छ । उनको पनि गए राति नै मृत्यु भएको बताइएकाे छ ।

रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक महिला र एक पुरुष कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार बिहान नवलपरासी–२ प्रतापपुर की ३७ वर्षीया संक्रमित महिलाको मृत्यु भएको अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले जानकारी दिए । उनी भदौ १७ गते अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई पनि श्वासप्रश्वासमा समस्या भएर अस्पताल ल्याएर जाँच्दा पाजिटिभ आएको थियो । शुक्रबार रातिबाट थप समस्या भएपछि भेन्टिलेटरमा राखी उपचार गरिएको डा थापाले बताए ।

यसैगरी गत भदौ १५ गते खोकी लागि ज्वरो आएपछि जाँचका लागि अस्पताल पुगेको बुटवल ११ का ४० वर्षीय पुरुषको शुक्रबार राति ११ः१० बजे मृत्यु भएको छ । डा थापाका अनुसार मृतक १५ गते अस्पताल आएका थिए । उनको इमरर्जेन्सी एक्सपर्ट टेस्टबाट पीसीआर जाँच गर्दा पोजिटिभ आएपछि कोरोना विशेष अस्पतालमा राखी उपचार गरिएको थियो । विगत ४ दिनदेखि भेन्टिलेटरमा राखिएका उनलाई श्वासप्रश्वासमा समस्या भएपछि मृत्यु भएको डा थापाले बताए ।

अन्य कुनै दीर्घ रोग नभएको दुबैमा ज्वरो र श्वासप्रश्वासको समस्या रहेको डा. थापाले बताए । अहिले अस्पतालको आईसियूमा १४ र भेन्टिलेटरमा २ जनाको उपचार भइरहेको अस्पतालले जनाएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *