टीकापुर (कैलाली) । कैलालीको टीकापुर नगरपालिकाले क्षयरोगका बिरामीलाई पोषण सहयोग गरेको छ । पालिकाले ५७ विपन्न क्षयरोगका बिरामीलाई खाद्यान्न वितरण गरेको हो ।
पोषणमा २५ किलो चामल, एक क्यारेट अण्डा, डेढ किलो चिनी, दुई किलो दाल, एक लिटर खानेतेल र डेढ किलो गेडागुडी वितरण गरेको छ । टीकापुर नगरपालिकामा विगत चार वर्षदेखि क्षयरोग मुक्त पालिका अभियान सञ्चालनमा छ । सो अभियानअन्तर्गत क्षयरोगीको निदान र उपचारमा प्राथमिकता दिइएको छ ।
निदान नभएका क्षयरोगीका कारण समुदायमा क्षयरोग फैलने जोखिम उच्च भएकाले पालिकाले निदानलाई प्राथमिकता दिएर काम गरिरहेको टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत बलबहादुर रावलले बताए ।
“क्षयरोगका बिरामीलाई पोषिलो खानेकुरा चाहिन्छ, हामीकहाँ गरिब परिवारका सदस्यमा क्षयरोग धेरै देखिने गरेको छ”, उनी भन्छन् , “त्यसैले अति गरिब परिवारलाई खाद्यान्न सहयोग गरेका हौँ ।”
पालिकाले नियमित रुपमा पोषण सहयोग गर्ने गरेको छ । गत वर्ष ११७ जनालाई पोषण सहयोग गरेको थियो । “अभियानलाई हामीले तीव्र बनाएका छौँ, तर बजेट घट्दै गएको छ”, अधिकृत रावलले भने, “यस वर्ष क्षयरोग मुक्त पालिका अभियानका लागि रु सात लाखमात्र बजेट थियो । गत वर्ष रु २४ लाख ३३ हजार बजेट थियो । केन्द्रले नै बजेट घटाउँदै लगेको छ ।”
क्षयरोगका बिरामीको खोज पड्तालका लागि स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई घरदैलोमा पठाउने, क्षयरोग स्वयंसेवक हरेक वडामा खटाएको, निदानका लागि शिक्षक, बडघर, भल्मन्सालाई परिचालन गरेको पालिकाले जनाएको छ । यसका साथै क्षयरोगी निदानका लागि समुदायमै परीक्षण शिविर, एआई एक्स–रे मेसिनबाट परीक्षणजस्ता काम भइरहेका विजयनगर सहरी स्वास्थ्य केन्द्रका क्षयरोग स्थानीय स्रोत व्यक्ति स्वास्थ्यकर्मी लक्ष्मीनारायण पोख्रेलले बताए ।
यहाँ क्षयरोग निदान र नियन्त्रणका लागि निःशुल्क खकार परीक्षण, टीकापुर अस्पतालमा जिनएक्सपर्ट प्रविधिबाट क्षयरोग निदान गरिने गरिएको छ । “समुदायमा खोज पड्ताल नियमित रुपमा गरिरहेका छौँ”, पोख्रेलले भने, “विद्यालय, समुदाय र मिडियामार्फत पनि क्षयरोगसम्बन्धी जनचेतना जगाउने काम भइरहेका छन् । हामीले क्षयरोगीको सम्पर्कमा रहेका परिवारका सदस्यको पनि स्क्रिनिङ तथा परीक्षण गर्ने गरेका छौँ ।”
पालिकाले औषधि प्रतिरोधी क्षयरोग पहिचानका लागि धनगढी वा नेपालगञ्ज जानुपर्ने बिरामीलाई यातायात खर्चसमेत उपलब्ध गराउने गरेको छ । टीकापुरमा यस वर्ष १७४ क्षयरोगका बिरामी भेटिएका छन् । टीकापुर अस्पतालसहितका टीकापुरका सबै स्वास्थ्य संस्थामा बिरामीको उपचारका लागि ‘डट्स’ कार्यक्रम सञ्चालनमा छ । यहाँ स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा नियमित रुपमा औषधि सेवन गराउने, औषधि बीचमै छोड्ने समस्या कम गर्ने कार्यमा सघाउने गरिएको छ । देशैभरिका स्वास्थ्य संस्थामा क्षयरोगको सबै उपचार निःशुल्क हुने गरेको छ ।
