नेपालको उद्धार संकटले सम्झायो सिल्क्यारा, अर्नोल्डले भने-कर्तव्य सफलताको निश्चिततामा निर्भर हुँदैन

काठमाडौँ । अन्तर्राष्ट्रिय सुरुङ उद्धारविज्ञ प्राध्यापक आर्नोल्ड डिक्सले नेपालको अहिलेको अवस्थाले भारतको सिल्क्यारा सुरुङ उद्धार घटनाको सम्झना गराएको बताएका छन् ।

सामाजिक संजालमार्फत उनले नेपालमा अहिले आफूले यसअघि कहिल्यै सामना नगरेको अवस्थाको सामना गरिरहेको उल्लेख गरेका छन् । उनका अनुसार यो एउटा मात्र उद्धार नभई विभिन्न स्थानमा एकै समयमा भइरहेका सम्भावित उद्धारका प्रयास हुन्, जहाँ फरक–फरक जोखिम, अनिश्चितता र अझै बचाउन सकिने जीवनहरू रहेका छन्।

उनले सिल्क्यारा घटनालाई स्मरण गर्दै त्यहाँ सुरुङबाट ४१ जनालाई जीवितै उद्धार गर्नु आफूहरूका लागि असम्भवजस्तै देखिएको चुनौती भए पनि सामूहिक प्रयासबाट त्यसलाई सफलतापूर्वक पार गरेको बताएका छन्।

उनले भनेका छन्, ‘एउटा ठूलो परीक्षा सफलतापूर्वक पार गर्नुको अर्थ परीक्षा सकियो भन्ने होइन । कहिलेकाहीँ त्यसको अर्थ हामीलाई अझ ठूलो जिम्मेवारी सुम्पिइएको हुन सक्छ।’

उनले पश्चिमी परम्पराले कठिन परिस्थितिमा पनि सही काम गर्नु नै कर्तव्य मान्ने र एसियाली परम्पराले त्यसलाई ‘धर्म’को अवधारणासँग जोड्ने उल्लेख गरेका छन्।

उनका अनुसार वास्तविक परीक्षा सफलता वा असफलता मात्र होइन, बाटो कठिन बन्दै जाँदा, जिम्मेवारी थपिँदै जाँदा र परिणाम अनिश्चित हुँदा पनि सही काम गरिरहन सक्नु हो।

‘सिल्क्याराले मलाई असम्भव र असम्भाव्यलाई कहिल्यै एउटै नठान्न सिकाएको छ,’ उनले भनेका छन्। नेपालको पछिल्लो अवस्थाले आफूलाई अर्को महत्वपूर्ण पाठ सिकाइरहेको उल्लेख गर्दै उनले एकै समयमा धेरै मानिसको जीवन उद्धारकर्तामाथि निर्भर हुन सक्ने अवस्थामा आशालाई अनुशासनमा, करुणालाई कार्यमा र कर्तव्यलाई परिणामको निश्चितताभन्दा माथि राख्नुपर्ने बताएका छन्।

उनले पूर्व वा पश्चिम जुनसुकै परम्परा भए पनि मानवीय कर्तव्यको मूल सिद्धान्त समान रहेको बताएका छन्। ‘हामीले कति जीवन बचायौँ भन्ने आधारमा मात्र हाम्रो मूल्याङ्कन हुँदैन, हामीले त्याग्न अस्वीकार गरेका जीवनले पनि हाम्रो मूल्याङ्कन गर्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *