मुस्ताङको ठिनी गाउँमा प्रकृति पूजा

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–३ ठिनी गाउँमा स्थानीय थकाली समुदायले परम्परागत रूपमा मनाउने फालो पर्व आइतबारबाट सुरु भएको छ। हरेक वर्ष भदौ महिनामा मनाइने भएकाले स्थानीय थकाली भाषामा यस पर्वलाई ‘फालो’ भनिन्छ।

थकाली समुदायको उद्गमस्थलका रूपमा परिचित ठिनी गाउँ ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ। स्थानीयका अनुसार थकाली राजाले शासन गरेको यस गाउँमा पुस्तौँदेखि फालो पर्व मनाइँदै आएको छ। फालो पर्वका अवसरमा ठिनी गाउँमा दुई दिनसम्म विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन हुन्छन्। पर्वको पूर्वसन्ध्यामा गाउँका लामाले प्रकृतिको विशेष पूजा गरेपछि स्थानीयवासीले उनीहरूबाट आशीर्वाद लिने परम्परा छ।

प्रकृति पूजा गर्न जाने क्रममा स्थानीय महिलाले लामालाई खादासहित फूलमाला लगाएर सम्मानका साथ बिदाइ गर्ने परम्परा छ। स्थानीय लामा श्यामप्रसाद थकालीका अनुसार फालो पर्वमा हिमाललाई साक्षात् भगवानका रूपमा मानेर पूजा गरिन्छ। गाउँमा कुनै अनिष्ट नहोस्, रोगव्याधि नलागोस्, अन्नबाली सप्रियोस्, प्राकृतिक विपत्ति नआओस् र विश्वमा शान्ति छाओस् भन्ने कामनासहित प्रकृति पूजा गरिने उनले बताए।

पछिल्लो समय विपद्का घटना बढ्दै गएको र रसुवाको भोटेकोशीमा आएको विनासकारी बाढीबाट ठूलो जनधनको क्षति भएको स्मरण गर्दै उनले यस्ता घटना नदोहोरिउन् भन्ने कामनासमेत प्रकृति पूजामा गरिने बताए। ठिनी गाउँका स्थानीयवासी फालो पर्वको पूर्वसन्ध्यामा घोडामा सवार भएर प्रकृति पूजाका लागि नमखुलेक क्षेत्रमा पुगेका छन्। पर्वमा सहभागी हुने लामालाई गाउँका महिलाले परम्परागत रूपमा सम्मानसहित बिदाइ गरेका छन।

प्रकृति पूजा गर्न गएको टोली दुई दिनपछि गाउँ फर्कनेछ। टोली फर्किएपछि मात्र फालो पर्व औपचारिक रूपमा सुरु हुने स्थानीय बताउँछन्। पर्वमा याक नाच, जोगी नाच, तमाया नाचलगायत सांस्कृतिक झाँकी प्रस्तुत गरिन्छ। दुई दिनसम्म सञ्चालन हुने पर्व धार्मिक विधि तथा परम्पराअनुसार समापन गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *