नेपाली राजदूतावास बनाउन ओमन सरकारले जग्गा दिने

मस्कट । नेपाली राजदूतावासको आवासीय भवन निर्माणार्थ जग्गा प्राप्ति गर्न नेपाल सरकार र ‌ओमान सरकारबीच एक सम्झौतामा हस्ताक्षर भएको छ । ओमानको परराष्ट्र मन्त्रालयमा आज मंगलबार हस्ताक्षर गरिएको हो ।

आफ्नै भवन बनाउने नेपाल सरकारको नीतिबमोजिम मस्कटस्थित दूतावासको भवन बनाउनका लागि जग्गा प्राप्तिको पहिलो काम सम्पन्न भएको हो । ओमानको तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव (प्रशासन तथा लेखा) मोहम्मद विन नासिर विन मोहम्मद अल वहेबि र नेपाल सरकारको तर्फबाट ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन । ओमानको कूटनीतिक हाताभित्र ४ हजार १०० वर्ग मिटर क्षेत्रफलको जग्गा २० वर्षलाई लिजमा लिइएको हो । अवधि सकिएपछि आपसी सहमतिमा सम्झौताको अवधि बढाइने बताइएको छ ।

हस्ताक्षर कार्यक्रममा सचिब मोहम्मद विन नासिरले नेपालसँग ओमानले प्रगाढ सम्बन्ध राख्ने परराष्ट्र नीति रहेको बताउँदै नेपालसँगको सम्बन्धको विशेष महत्व रहेको बताएका छन् । नेपाल–ओमानबीच द्विपक्षीय व्यपार, लगानी, पर्यटनलगायतका क्षेत्रमा समेत आगामी दिनमा सहकार्य बढाउँदै लानुपर्ने उनको धारणा थियो ।

खाडी क्षेत्रमा रहेका करीब १५ लाख नेपाली कामदारहरूको सुरक्षा तथा स्थायित्वमा सम्झौताले योगदान दिनेछ । ओमनका लागि नेपाली राजदुत पराजुलीले जग्गा उपलब्ध गराएकोमा ओमन सरकारप्रति आभार प्रकट गरेकी थिइन् ।

आफ्नै भवन हुने ओमनको नेपाली दूताबास खाडी कै पहिलो दूतावास हुनेछ । आफ्नै भवन हुँदा दूतावासको वर्षेनी घर भाडामा हुने खर्चमा व्यापक कटौती हुनेछ । यसले दीर्घकालीनरूपमा मुलुकलाई आर्थिक बोझ कम हुनेछ । हस्ताक्षर कार्यक्रममा ओमानको परराष्ट्र मन्त्रालय तथा नेपाली दूतावासका पदाधिकारीहरूको उपस्थिति रहेको दुतावासले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *