काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को उत्कर्षमा पुगेकाे आन्तिरक विवाद समाधानका लागि आगामी भदौ १३ गते शनिबार सचिवालय बैठक बस्ने भएको छ । प्रधानमन्त्री के पी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मंगलबार भएको छलफलपछि भदौ १३ गते ११ बजे बस्ने गरी सचिवालय बैठक बोलाउने तय भएको हाे ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टीका दुई अध्यक्षबीचकाे दुई घण्टा लामाे छलफलले भदाै १३ गते ११ बजे पार्टी सचिवालयकाेे बैठक बाेलाउने सहमति गरेकाे भन्दै बैठककाे मुख्य एजेण्डा कार्यदलले बुझाएकाे प्रतिवेदन रहेकाे जानकारी दिएका छन् ।
पार्टीको आन्तरिक विवाद समाधान गर्न महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले दिएको प्रतिवेदन सचिवालय बैठकमा छलफलपछि स्थायी कमिटीमार्फत अनुमोदन गरेसँगै कार्यन्वयनमा लैजाने नेताहरुको तयारी छ । अध्यक्षद्वय ओली र प्रचण्डले अन्तरिक विवाद समाधान गर्न गत साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वको ६ सदस्यीय कार्यदल गठन गरेका थिए । कार्यदलमा नेताहरू भीम रावल, शंकर पाेख्रेल, जनार्दन शर्मा, पम्फा भूषाल, सुरेन्द्र पाण्डे रहेका थिए ।