दोहा । यमनी संचारमन्त्री मुआम्मर अल इर्यानीले कतारविरूद्ध पटक पटक दिएको अभिव्यक्तिप्रति कतार अचम्ममा परेको बताएको छ । कतारी परराष्ट्र मन्त्रालयले आइतवार एउटा वक्तव्य जारी गर्दै यमनसँगको भ्रातृसम्बन्धमा नै असर पर्नेगरी संचारमन्त्री इर्यानीले कतार विरूद्द पटक पटक अभिव्यक्ति दिनुले आश्चर्यमा पारेको बताएको हाे ।
वक्तव्यमार्फत कतारले भ्रातृराज्य यमनका जनताप्रति कतारी जनताको आत्मियतालाई नकार्दै कतारविरूद्द अभिव्यक्ति दिनु गलत भएको उल्लेख गरेको छ । अगष्ट १६ का दिन इर्यानीले साउदी अरेबियाबाट प्रकाशित हुने संचारमाध्यममार्फत् कतारले इरानको सहायतामा आंतक मच्चाइरहेको हुथी विद्रोही संगठनसँग निरन्तर सम्पर्कमा रहेको र आतंककारी गतिविधिमा सघाइरहेको आरोप लगाएका थिए । साथै यमनी संचारमन्त्री इर्यानिले कतारले संयुक्त राष्ट्रसंघको सामान्य सर्तसमेत पालना नगरेको आरोप लगाएका थिए ।
यसअघि सन् २०१७ जुन ५ तारिखदेखि साउदी अरेविया, युनाइटेड अरव इमिरेट्स, इजिप्ट र बहराइनले इरानको सहायतामा आंतक मच्चाइरहेको हुथी विद्रोही संगठनलाई कतारले सघाएको भन्दै कतारविरूद्द नाकावन्दीको घोषणा गरेका थिए ।