USAID

बत्ती बाल्ने महिना समापन, ओल्के सङ्क्रान्ति मनाइँदै


बैतडी । भदौ १ गते, ओल्के सङ्क्रान्ति । बैतडीसहित सुदूरपश्चिममा हर्षोल्लासका साथ योे पर्व मनाइँदैछ । ओल्को भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ । आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठो परिकार खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रहिआएको छ ।

यसका साथै बिहानै नुहाइधुवाई गरी विभिन्न परिकार बनाएर कृषिसँग सम्बन्धित औजार तथा फलफूल आजका दिन आफन्तलाई ओल्कोअर्थात् उपहार दिने पनि गरिन्छ । वर्षापछि सङ्कटबाट बचेको र नवजीवन प्राप्त भएको खुशियालीमा यस क्षेत्रमा ओल्को मनाउने प्रचलन रहेको पण्डित दयाकृष्ण पन्तले बताए ।

यो दिन ओल्कोका रूपमा फलफूल, सागपात, अन्न, दूध, दही, घ्यू, गूड र पक्वान्न आदि लिएर मान्यजन र आफन्तलाई भेटघाट गर्न जाने चलन छ । धेरैजसो ठाउँमा मन्दिरमा अन्न चढाई ओल्को हाल्दछन् । यो पर्व कुनै धार्मिक वा पौराणिक उत्प्रेरणाबाट प्रभावित नभई यस भेगका बासिन्दाको मौलिक पर्वका रूपमा पनि रहिआएको छ । यसलाई सिंह सङ्क्रान्ति पनि भन्ने गरिएको छ । यो पर्व नेपालको सुदूरपश्चिमका साथै भारतको कुमाउँ गढवालमा पनि मनाइन्छ ।

“ओल्को भन्नाले सम्मानित व्यक्तिलाई दिइने केही वस्तु वा उपहारलाई जनाउँछ ।”, पण्डित पन्तले भने, “ठूलालाई सम्मान र सानालाई माया गर्नु हाम्रा पर्वका मुख्य विशेषता हुन्, ओल्कोलाई शाब्दिक अर्थले उपहार लिनुदिनुमा मात्रै नभई संस्कृति, परम्परा र आस्थाको रूपमा पनि चिनिन्छ ।” पण्डित पन्तका अनुसार यो पर्व विशेषमा ओल्कोको रुपमा फलफूल, सागपात, अन्न, दूध, दही, घ्यू, गूड र पक्वान्न आदि मान्यजन र आफन्तलाई दिईन्छ भने आजभोलि लुगा कपडा, पैसा वा यस्तै अन्य उपहारसमेत दिने गरिन्छ । गुठियारले इष्ट कुलदेवताको मन्दिरमा नयाँ अन्नबालीको ओल्को चढाउने गर्दछन् । केही वर्ष अघिसम्म ठूलाबडालाई साना जातकाले चिनो वस्तु चढाउने दिनका रूपमा समेत लिने गरेको पाईन्थ्यो ।

ओल्के सङ्क्रान्तिताका सतरती (सातरातको झरी) पर्दछ । यो समयमा आकाशमा तारा देखिएमा वा वनमा चर्न गएका भैँसीका सिङ ओभानो भएमा अनिकाल पर्ने सम्भावना र ऋतुमति धर्तीले नवीन सिर्जना गर्न थाल्ने विश्वास रहिआएको छ । प्रकृतिमा नयाँ नयाँ किसिमका वनस्पति र किरा फट्याङ्ग्रा देखिनुका साथै धुलोधुवाँ र फोहोर पखालिन्छ र पाखा पखेरामा नवधार (पानीका नयाँ मुहान) फुट्न थाल्ने पनि जनविश्वास रहेको छ ।

बूढी हाल्ने

ओल्के सङ्क्रान्तिका दिन गाउँ नजिकका डाँडामा सबैजना मिलेर रूखका हाँगाबिँगा, झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ । यो थुप्रोलाई स्थानीय भाषामा ‘बूढी हालेको’ भनिन्छ । यो बूढीलाई असोज सङ्क्रान्तिका साँझ प्रत्येक घरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ पोलेर ‘बूढी पोल्ने’ पर्व मनाउने परम्परा रहेको पण्डित पन्तले बताए । यस अनुष्ठानलाई द्वापरकालीन मथुराकी पुतनाको कथासँग पनि जोड्ने गरेको पाइन्छ ।

सुदूरपश्चिमका पहाडी जिल्लामा र भारतको कुमाउँ गढवालतिर मात्रै यो ‘बूढी पोल्ने’ पर्व मनाइने गरिएको पण्डितले बताए । घरबाट आगोको राँको निकाल्दा पूरै घरलाई घुमाएर निकाल्ने गरिन्छ र घरबाट चिरेको काँक्रो लगेर पोलेको बूढीमा थुक्ने गरिन्छ । यसरी बूढी पोलेमा वर्षभरि लुतोलगायतका रोगव्याधिबाट परिवारजन मुक्त हुने मान्यता रहेको छ । भगवान् श्रीकृष्णलाई पुतनाले विषालु स्तनपान गराएको र श्रीकृष्ण भगवान्ले पुतनाको स्तन चुसेर मारेपछि पुतनाको भयानक रूप पैदा भएको तथा मरेको लासलाई हटाउन नसकेपछि गोकुलवासीले टुक्राटुक्रा पारेको दिनको सम्झनामा भाद्र १ मा बूढी हाल्ने र असोज १ गतेका दिन पोल्ने चलन रहेको छ ।

बत्ती बाल्ने महिनाको समापन

सुदूरपश्चिममा साउन १ गतेबाट शुरु भएको बत्ती बाल्ने महिनाको शनिबार समापन भएको छ । धार्मिक महिनाका रूपमा समेत चिनिने साउन महिनालाई बत्ती बाल्ने महिनाअर्थात् स्थानीय भाषामा कालो महिना भनिन्छ । साउने सङ्क्रान्तिदेखि सुदूरपश्चिमका बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, अछाम, बाजुरालगायत जिल्लामा साउनलाई विशेष धार्मिक महिनाका रूपमा लिई मन्दिरमा पाठपूजा गर्ने चलन रहिआएको छ ।

साउनको महिना देवीदेवता वैकुण्ठमा शयन गर्ने अर्थात् सुत्ने भएकाले यस महिनालाई कालो महिना भन्ने गरिएको पण्डित पन्तले बताए । उनले भने, “साउनको महिना सबैतिर हरियाली हुने भएकाले देवीदेवता सुत्ने गर्दछन, हरिशयनी एकादशीदेखि साउनको महिनासम्म भगवान वैकुण्ठमा बस्ने गर्छन् ।” शयन गरेका बेला बत्ती बालेपछि देवीदेवताको रक्षा हुनुका साथै कुनै पनि बैरी नलाग्ने जनविश्वास रहिआएको छ । साउन १ गतेदेखि भक्तजनले बिहानै उठेर नुहाइधुवाई गरी एक महिनासम्म व्रत बसी देवीदेवताका मन्दिरमा गई पूजापाठ गर्नाले मनले चिताएको पूरा हुने र अन्जानमा गरिएका पाप कर्म नष्ट हुने धार्मिक विश्वास रहिआएको छ ।

यसअघि बैतडीका विभिन्न स्थानमा खिरपूजासमेत गर्ने प्रचलन छ । साउन १ गतेबाट शुरु भएको पूजा साउन १५ गते मठमन्दिरमा विशेष पूजा गरी खिरपूजा गर्ने गरिन्छ । जिल्लामा रहेका रौलाकेदार, सिगास, ग्वाल्लेक, महारुद्र मन्दिरलगायतका धार्मिकस्थलमा साउन १५ गतेका दिन खिरपूजा गर्ने प्रचलन छ । साउन महिनाभरि पार्वतीले व्रत बसी महादेव पति पाएको धार्मिक विश्वास छ । यसैले यस महिनाभरि खासगरी विवाहिताले आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु र सुख समृद्धिको कामना गर्दै महादेवको व्रत, उपासना र पूजाआराधना गर्ने गर्दछन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *