USAID

समुदायमा संक्रमणको जोखिम बढ्यो, उपयुक्त रणनीति आवश्यक


डा. रवीन्द्र पाण्डे

केही दिन सुस्ताएको कोरोना संक्रमितको ग्राफआज एकाएक बढेको छ । परीक्षणको दर न्यून (करिब ५ हजार) भए पनि आज काठमाडौं उपत्यकामा ५३ जना (काठमाडौंमा ४८, ललितपुरमा ४ र भक्तपुरमा १ गरेर) नयाँ संक्रमितको पहिचान भएको छ । त्यति मात्र हैन काठमाडौं उपत्यका वरिपरिका अधिकांश जिल्लामा पनि केही संक्रमितको पहिचान भएको छ । सरकारले कन्ट्याक्ट ट्रेसिंग तथा संबेदनशील स्थानहरुमा परीक्षणको गति बढाउने हो भने थप संक्रमितहरुको पहिचान हुनेछ ।

पछिल्लो समयमा तराईका विभिन्न जिल्लामा कोरोना संक्रमण बढिरहेको अवस्थामा सुरक्षित हुनको लागि काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिहरुको संख्या उल्लेख्यरुपमा बढेको छ । यसले गर्दा काठमाडौं उपत्यका थप जोखिमयुक्त बनेको छ । ४० लाख जनसंख्या रहेको कचौराजस्तो काठमाडौं उपत्याकामा कोरोना संक्रमण समुदायमा फैलियो भने हाम्रो स्वास्थ्य प्रणालीले धान्न सक्दैन । सरकारले आवागमनमा भएको फितलोपनलाई नियमन गर्न जरुरी छ । त्यस्तै भारतसँग सीमा जोडिएको तराई क्षेत्रमा परीक्षण निकै कम भएको छ । पहिले संक्रमणको चपेटामा परेका पहाडी क्षेत्र तथा अन्य सहरी क्षेत्रको परीक्षण दयनीय छ । यी क्षेत्रमा संक्रमण बढ्दो गतिमा देखिएको छ । सरकारले यी क्षेत्रका जनचेतना कम भएका वर्गमा परीक्षणलाई घनीभूत गराउने हो भने हामीले कल्पना गरेभन्दा अग्लो ग्राफ देखिनेछ । परीक्षणको दर जति बढायो, त्यति धेरै संक्रमितको पहिचान हुनेछ । जति धेरै संक्रमित पहिचान भयो त्यति धेरै समाज सुरक्षित हुन्छ, संक्रमण नियन्त्रण गर्न सजिलो हुन्छ ।

सरकारले सीमा क्षेत्रमा सुरक्षाकर्मी तथा स्थानीय नागरिकको संयुक्त गस्ती बढाएर अबैध आवतजावतलाई नियन्त्रण गर्नु जरुरी छ । सिंगो देशमा ब्यापक परीक्षण गरेर रेड, एल्लो र ग्रीन जोन निर्क्यौल गर्ने हो भने कोरोना संक्रमण नियन्त्रण गर्ने रणनीति बनाउन धेरै सजिलो हुन्छ । यसो भयो भने रेड जोनलाई लकडाउन गर्ने वा आवश्यक परे कर्फ्यु लगाउने, एल्लो जोनमा कडाइ गर्ने तथा ग्रीन जोनमा जनस्वास्थ्यका मापदण्ड अपनाएर यातायात लगायतका गतिबिधि सुचारु गर्न सकिन्छ । रेड जोनमा आवतजावत नरोक्ने हो भने हाम्रो अवस्था अकल्पनीय हुनेछ ।

शैक्षिक संस्था, हवाई यातायात, सार्वजनिक यातायात लगायतका सेवा सुबिधा खोल्नको लागि यी ३ वटा जोन निर्धारण गर्नु अपरिहार्य छ । त्यस्तै अन्तर्राष्ट्रिय उडान नेपालीलाई स्वदेश ल्याउने तथा नेपालमा अड्केक विदेशी तथा नेपालीलाई अर्को ट्रान्जिटसम्म पुर्याउन बाहेक खोल्नु हुँदैन । अन्यथा भारत, बंगलादेशलगायतका देशबाट हजारौं संक्रमित आउने जोखिम रहन्छ ।

सरकारले हतार गरेर तथा वैज्ञानिक बिधि नअपनाएर हचुवाको भरमा सबै क्षेत्र खोल्यो भने ती क्षेत्र संचालन नहुने तथा जोखिम निकै बढ्ने दोहोरो खतरा हुनसक्छ । सरकारको अर्जुनदृष्टि कोरोना संक्रमण नियन्त्रण र नागरिकलाई राहत तथा सहुलियत दिनेतर्फ केन्द्रित हुनु जरुरी छ । सबै मन्त्रालय, प्रदेश सरकार र स्थानीय निकायले यो महामारीमा अत्यन्तै जिम्मेवार भएर तथा समन्वय गरेर काम गर्नु अपरिहार्य छ । चाडपर्वको लागि लाखौँ नेपाली स्वदेश आउने अनुमान गरेर अहिल्यै क्वारेन्टाइन तथा परीक्षणको चुस्त तयारी गर्नु जरुरी छ । संक्रमण निकै बढेमा चाहिने अक्सिजन, रगत, आइसीयु बेड, भेन्टिलेटर तथा दक्ष जनशक्ति तयारी अवस्थामा राख्नु पर्दछ । अन्तिम समयमा मात्र ब्युझिँने हाम्रो परिपाटी महामारीको समयमा घातक बन्न सक्छ ।

महामारी नियन्त्रण गर्नको लागि सरकार, मिडिया तथा आम नागरिकको एकता र संयुक्त प्रयास आवश्यक हुन्छ । यस्तो घडीमा हामीमा अन्तर्निहित बिमतिलाई थाती राखेर महामारीसँग संयुक्तरुपमा जुध्नु हामी सबैको कर्तब्य हो । एकताको शक्तिले नै हामीले यो महामारीलाई जित्न सक्छौं भन्ने बुझ्न आवश्यक छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *