प्रजातान्त्रिक पार्टीका सभापति जिम्मेवार, नैतिकवान होऊन्

गोपालकृष्ण घिमिरे


नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी भएका नाताले नेपाली कांग्रेस पार्टीले आफ्ना हरेक क्रियाकलाप पारदर्शी ९तचबलकउबचभलत० र उत्तरदायि ढंगले गर्नुपर्दछ । आफ्नो चार वर्षको कार्यकालको समाप्तिपछि थप गर्न पाउने १ वर्षको अवधि थप गरि सो अवधिसमेत समाप्त हुने अवस्थामा पुग्न लागेको छ । १४ औँ महाधिवेशनको चहलपहल शुरुवात भईसकेको र १३ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको समायोजन प्रक्रिया लगभग अन्तिम अवस्थामा पुगिसकेको परिस्थितिमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विधानबमोजिम आफु निर्वाचित भएको ६ महिना भित्र गरिसक्नु पर्ने पार्टीका विभिन्न विभागहरुको गठन कार्यलाई हाल आएर एकपक्षीयरुपमा अघि बढाउने कार्य गरेको व्यहोराको जानकारी सबैलाई छ ।

यस्तो अवस्थामा सभापतिले गरेको उक्त कार्य गैरकानुनी भएको भनी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शसांक कोइराला र कोषाध्यक्ष सितादेवी यादवले संयुक्त हस्ताक्षर गरी नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समिति (आयोग) मा उजुरी गरेको अवस्था छ । १४ औँ महाधिवेशन घोषणा भइ कार्यतालिका समेत प्रकाशित भइसकेको तर विधिवतरुपमा निर्वाचन प्रकृया शुरुवात भई नसकेको परिप्रेक्षयमा केन्द्रीय निर्वाचन समितिले निर्वाचन निर्देशिका र आचार संहितासमेत निर्माण गरि नसकेको र नेपाली कांग्रेसको विधान र नियमावलीले यस विषयमा निर्वाचन समितिले निर्णय गर्न पाउने गरी व्यवस्था नगरेको हुनाले यस विषयले निर्वाचन समितिको ध्यान आकर्षित गरेको छ ।

१४ औँ महाधिवेशनलाई परिलक्षित गरी पार्टीका विभिन्न निकायहरुको समायोजन गर्ने कार्य अन्तिम चरणमा पुगेको अवस्थामा सभापतिद्वारा गरिएको उक्त विभिन्न विभाग गठनसम्बन्धी कार्य वैधानिकरुपमा के हुने भन्ने भन्दा पनि एउटा लोकतान्त्रिक पार्टीको प्रमुखले नैतिकरुपमा के गर्न मिल्ने वा के गर्न नमिल्ने भन्ने विषय विचारणीय बन्न पुग्दछ । अतः उक्त कृयाकलापले आगामी महाधिवेशनबाट हुने निर्वाचनलाई प्रभावित गर्दछ भन्ने विषयबस्तुलाई नैतिकरुपमा मनन् गरी यस्ता विषयलाई नेपाली कांग्रेसजस्तो लोकतान्त्रीक पार्टीका सभापतिले जिम्मेवार भई पारदार्शिता र उत्तरदायित्त्वको सिद्धान्तमा आधारित भई आपसी सहमतिमा सबैलाई समेट्नु हुनेछ र चौधौँ महाधिवेशनवाट हुने निर्वाचनलाई निश्पक्ष बनाउन सघाउ पुर्याउनु हुनेछ भन्ने विश्वास लिएको छु ।

(वरिष्ठ अधिवक्ता घिमिरे कांग्रेस केन्द्रीय निर्वाचन समितिका वरिष्ठ सदस्य हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *