११ सय सैनिक शान्ति मिसन पठाउन तयारी

काठमाडौं । नेपाली सेनाले कोरोना संक्रमण कै बीच आफ्ना सैनिकलाई शान्ति मिसनमा पठाउने तयारी गरेको छ । संयुक्त राष्ट्र संघको शान्ति मिसनअन्तर्गतको रोटेसनअनुसार सेनाले सुडान, माली, कार र लिबियामा आफ्ना १ हजार १ सय २६ सैनिकलाई पठाउने अन्तिम तयारी गरेको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए ।

यसअघि मिसनमा गएकाहरुसमेत समय अवधि सकिएर पनि कोरोना महामारीकै कारण नेपाल फर्किन पाएका छैनन् । नेपालबाट थप सैनिक पठाएपछि उनीहरु फर्किने बताइएको छ । यताबाट पठाउने टोलीको स्वास्थ्य परीक्षणपछि सबैलाई क्वारेन्टिनमा पठाइएको प्रवक्ता पाण्डेले जानकारी दिए । मिसनमा जाने सैनिकहरुलाई पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको क्वारेन्टिनमा पठाइएको हो ।

तालिकाअनुसार जुलाई १ तारिखमा एउटा समूह दक्षिण सुडान प्रस्थान गर्नेछ । यस्तै, ५ तारिखमा अर्को समूह कार प्रस्थान गर्ने तय भएको छ । यस्तै, ७ तारिखमा माली र १५ तारिखमा लिबिया गरी दुई समूह जानेछन् ।

मिसनका लागि दक्षिण सुडानमा ७ सय, कारमा ५८, मालीमा १ सय ३८ र लिबियामा २ सय ३० सैनिक जाने सेनाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *