काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले संयुक्त अरब इमिरेट्स (यूएई) का वैदेशिक व्यापारमन्त्री डा. थानी बिन अहमद अल जेयोदीसँग भेटवार्ता गरेका छन् ।
अबुधाबीमा शनिबार भएको भेटमा दुई देशबीचको द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सहकार्यका विभिन्न विषयमा छलफल भएको हो ।
भेटका क्रममा गृहमन्त्री गुरुङले बुढीगण्डकी जलविद्युत् आयोजनामा यूएईको लगानीका लागि प्रस्ताव गरेका छन् । उनले कृषि तथा सेवा क्षेत्रको विकास र सुरक्षा प्रविधिमा सहकार्य गर्न पनि यूएईसमक्ष प्रस्ताव राखेका छन् ।
त्यसैगरी, फेसलेस पोलिसिङको अवधारणा कार्यान्वयन, ननलेथल सेक्युरिटी गियर्स उत्पादन तथा नेपालका सुरक्षा निकायलाई प्रविधिमैत्री र आधुनिक बनाउने विषयमा समेत दुवै मन्त्रीबीच विचारविमर्श भएको जनाइएको छ ।
नेपालले प्रस्ताव गरेका परियोजनाबारे औपचारिक प्रस्ताव आदानप्रदान गरी आवश्यक प्रक्रिया अघि बढाउने विषयमा दुवै पक्ष सकारात्मक देखिएका छन् । भेटमा आगामी दिनमा द्विपक्षीय सहकार्यलाई थप सुदृढ र विस्तार गर्ने प्रतिबद्धतासमेत व्यक्त भएको छ ।
