लुम्बिनी शीर्ष स्थानमा रहँदै एनपीएलको प्लेअफमा, विराटनगर बाहिरियो

काठमाडौं । साविक  विजेता लुम्बिनी लायन्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल)को पहिलो क्वालिफायामा आफ्नो स्थानमा सुरक्षित गरेको छ । शनिबार राति सम्पन्न खेलमा विराटनगर  किंग्सलाई ४ विकेटले हराउँदै लुम्बिनी अंकतालिकाको शीर्ष स्थानमा रहेर प्लेअफमा पुगेको हो । हारसँगै विराटनगर प्रतियोगिताबाट बाहिरिएको छ ।

जितको लागि १ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले १९.५ ओभरमा ६  विकेटको क्षतिमा १ सय ६८ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । लुम्बिनीको लागि दुई ओपनर डार्सी शर्ट र आसिफ शेखले समान ४५/४५ रन बनाए । यस्तै अलि शेखले  २७, सन्दीप जोराले  २५, कप्तान रोहित पौडेलले ९ र रुबिन ट्रम्पलम्यानले नटआउट ६ रनको  योगदान  गरे ।

विराटनगरको लागि अप्रजित पौडेलले दुई विकेट लिँदा चरिथ असलंका र रुपेश सिंहले  समान एक/एक विकेट  लिए ।

यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको  खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६६ रन बनाएको थियो । विराटनगरको लागि चरिथ असलंकाले अर्धसतक बनाए । उनले ४३ बलमा ६ छक्का र एक चौकाको मद्दतमा ६४ रन बनाए । यस्तै शुभम रान्जानेले नटआउट ३१, इमरान शेखले २४ र लोकेश बमले १५ रनको योगदान गरे ।

लुम्बिनीको लागि किशोर महतोले ४ ओभरमा २४ रन दिएर २ विकेट लिँदा रुबिन ट्रम्पल्म्यान र अभिशेष गौतमले समान एक/एक विकेट लिए ।

जितसँगै लुम्बिनी ७ खेलबाट ११ अंक जोड्दै  शीर्ष स्थानमा रहेर प्लअफमा पुग्दा विराटनगर समान खेलबाट ६ अंक जोड्दै पाँचौ स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *