लुम्बिनीको जितसँगै काठमाडौं र चितवनपनि प्लेअफमा

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने चारवटै टोलीको टुङ्गो लागेको छ । शनिबार राति सम्पन्न  खेलमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई पराजित गरेसँगै काठमाडौं गोर्खाज र चितवन राइनोजले पनि लिग चरणको एक खेल अगावै प्लेअफमा स्थान पक्का गरेका हुन् ।

लुम्बिनीले विराटनगरलाई ४ विकेटले हराउँदै ७ खेलबाट ११ अंक जोडेर अंकतालिकाको शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरिसकेको छ । दोस्रो स्थानमा रहेको सुदूरपश्चिम रोयल्सको समान ७ खेलबाट १० अंक छ ।

काठमाडौं गोर्खाज ६ खेलबाट ८ अंकसहित तेस्रो स्थानमा रहँदा चितवन राइनोज समान खेलबाट ७ अंक जोडेर चौथो स्थानमा छ । यी दुवै टोलीले अब एक खेल खेल्न बाँकी छ ।

आइतबार हुने खेलमा काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्सलाई पराजित गरेमा १० अंकसहित अंकतालिकाको दोस्रो स्थानमा उक्लिँदै पहिलो क्वालिफायरमा स्थान बनाउनेछ । तर, काठमाडौं पराजित भएमा सुदूरपश्चिम रोयल्स दोस्रो स्थानमा यथावत रहनेछ भने काठमाडौं तेस्रो स्थानमै सीमित हुनेछ ।

यस्तै, आइतबार नै हुने अर्को खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई पराजित गर्न सकेमा ९ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा उक्लिनेछ ।

काठमाडौंले जित निकाल्न नसकेमा काठमाडौं र चितवनले इलिमिनेटर खेल्नुपर्नेछ ।

लिग चरणका अन्तिम खेलहरू आइतबार हुँदैछन् । पहिलो खेलमा काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्स भिड्दा दोस्रो खेलमा चितवन राइनोजले कर्णाली याक्सको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *