मोरङ कारागारका कैदीबीच झडप, ६ जना घाइते

विराटनगर । मोरङ कारागारका कैदीबन्दीहरु कारागारका चौकीदार र नाइकेविरुद्ध आन्दोलनमा उत्रिएका छन् । उनीहरुले मङ्गलबार बिहान चौकीदार किरण गुरुङसहित १४ जनालाई जेलभित्रकै एउटा कोठामा थुनिदिएर आन्दोलन गरेका हुन् ।

त्यसअघि चौकीदार समूह र अन्य कैदीबन्दीबीच विवाद हुँदा केहीबेर झडपसमेत भएको थियो । झडपमाा परी चौकीदार गुरुङसहित उनका समूहका ६ जना नाइके र भाइनाइकेहरु घाइते भएका कारागार प्रशासनले जानकारी दिएको छ ।

कारागारभित्र चौकिदार किरण गुरुङले अनावश्यकरुपमा कैदीबन्दीहरुलाई यातना दिने, आर्थिक शोषण गर्ने जस्ता काम गरेपछि विरोध गर्नुपरेको कैदीबन्दीहरुले बताएका छन् ।

चौकीदार गुरूङ, नाइके र भाइ नाइकेहरूको अत्यचार सहन नसकेपछि पदमकुमार लिम्बू, निर्मल ढकाल, रामकुमार राई, रमेश मण्डल, किरण गुरुङ, शेखर राई, विशाल मुक्ताङ, डिल्ली देवान, रोशन दाहाल, सूर्यदीप गुप्ता, कपिल साह, एलएस नेपाली, राजु राई, बविहाङ राईलाई यहाँका अन्य कैदीबन्दीले एउटा कोठामा थुनिदिएका थिए ।

काराागारभित्र दुई पक्षबीच दोहोरो झडप हुँदा छ जना कैदीबन्दी घाइते भएका निमित्त जेलर रामप्रसाद पोखरेलले जानकारी दिए । घाइतेहरु सबैलाई उपचारका लागि कोसी अस्पताल विराटनगर लगिएको छ । थुनिएका कैदीहरुलाई प्रहरीले कारागारबाट बाहिर निकालेर सुरक्षाका लागि राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *