दुई दिनपछि सर्‍यो नेकपा स्थायी समितिको अर्काे बैठक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समितिको बैठक आगामी असार १६ गते म‌गलबारसम्मका लागि स्थगित गरिएको छ ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले आज शनिबारको बैठक भारतसँगको सीमा विवादको विषयमा केन्द्रीत भएको उल्लेख गर्दै अर्को बैठक असार १६ गते बस्ने गरी स्थगित गरिएको जानकारी दिए ।

उनका अनुसार आइतबार मदन स्मृति दिवस र सोमबार १५ असार अर्थात् दही चिउरा खाने दिन परेकाले दुई दिन बैठक नराखेर १६ गतेका लागि सारिएको हो ।

शनिबारको बैठकमा स्थायी समिति सदस्यहरु देवेन्द्र पौडेल, रघुजी पन्त, सु्रेन्द्र पाण्डे, सुवास नेम्वाङ, जनार्दन शर्मा, गिरीराजमणि पोखरेल, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, युवराज ज्ञवाली, लेखराज भट्ट, प्रदीप ज्ञवाली, मणि थापा, धनश्याम भुसाल, बामदेव गौतम, इश्वर पोखरेलसहित २१ जनाले धारणा राखेका थिए ।

बैठकमा बोल्ने स्थायी समिति सदस्यहरु वार्ताको माध्यमबाट भारतसँगको सीमा समस्या समाधान गर्नुपर्छ भन्नेमा एकमत रहेको नेता रघुजी पन्तले जानकारी दिए । उनले वार्ताका लागि नेपाल सरकारले अधिकतम पहल गर्नुपर्नेमा जोड दिएको पनि जानकारी दिए ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली केहीबेर सहभागी भएपनि स्वास्थ्यको कारण देखाउँदै हिँडेको श्रेष्ठले जानकारी दिए । यसअघि शुक्रबारको बैठकमा पनि ओली सहभागी भएका थिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *