काठमाडौं । नेकपा एमालेले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै आन्तरिक एकताका लागि अन्तिम समयसम्म प्रयास गर्ने निर्णय गरेको छ । मंगलबार बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको नीति विपरीत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिएका नेता माधवकुमार नेपालसहित २२ सांसदलाई स्पष्टीकरण सोधेको एमालेले पत्र पुगेको २४ घण्टापछि सोबारे निर्णय गर्ने भएको छ ।
एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीका अनुसार पार्टीको विवाद समस्या समाधान कार्यदलका संयोजक सुवास नेम्वाङले आजको बैठकमा गत असार २७ मा भएको १० बुँदे सहमतिको पृष्ठभूमि र कार्यान्वयनका चरणबारे ब्रिफिङ गरेका थिए ।
उक्त सहमतिलाई सोमबारको बैठकले अनुमोदन गरिसकेको छ । बैठकमा विभिन्न प्रदेश कमिटीका अध्यक्षले सम्बन्धित प्रदेशको राजनीतिक र साङ्गठनिक स्थितिबारे जानकारी तथा सुझाव दिएको र बुधबार त्यसमाथि नेतृत्वले जवाफ दिने ज्ञवालीले बताए ।
बैठकमा भूमि व्यवस्था आयोगका अध्यक्ष देवी ज्ञवालीले सुकुम्बासी समस्या समाधानका लागि स्थानीय तहसँग सम्झौता भई कार्य भइरहेको स्थितिमा सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा आफूहरुलाई हटाएमा उचित नहुने बताएका थिए ।
बैठकमा मस्तिष्काघात भई उपचाररत पार्टीका केन्द्रीय सदस्य तथा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको स्वास्थ्य लाभको कामना पनि गरेको छ ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी१०औँ केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको निवर्तमान सरकारका उपलब्धि, सर्वाेच्च अदालतको असार २८ गतेको फैसला, पार्टीको आगामी कार्ययोजना, सुदृढीकरण र शुद्धीकरण अभियानलगायतका विषय कार्यसूची रहेका छन् । अर्काे बैठक बुधबार दिउँसो ३ बजे पुनः बस्नेछ ।