नेपाल ‘ग्रे लिष्ट’बाट बाहिर निस्किन असफल

काठमाडौँ । नेपाल सम्पत्ति शुद्धीकरणको ग्रे लिष्टबाट बाहिर निस्किन असफल भएको छ । फ्रान्सको पेरिसमा आयोजित फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को प्लेनरी तथा वर्किङ ग्रुप बैठकले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी लगानीको ग्रे लिष्टमा निरन्तरता दिएको हो ।

एफएटीएफले आतङ्कवादी वित्तीयकरण नियन्त्रणसम्बन्धी प्रणाली सुदृढीकरणका लागि नेपालले केही प्रगति गरे पनि रणनीतिक कमजोरीहरू सम्बोधन गर्न थप प्रयास आवश्यक रहेको बताएको छ । सन् २०२५ फेब्रुअरीमा एफएटीएफ र एशिया–प्रशान्त समूह (एपीजी) सँग सहकार्य गर्ने उच्चस्तरीय राजनीतिक प्रतिबद्धतापछि नेपालले आतङ्कवादी वित्तीयकरण (टिएफ र सामूहिक विनाशकारी हतियारको प्रसार वित्तीयकरण (पिएफ) सम्बन्धी लक्षित वित्तीय प्रतिबन्ध व्यवस्थामा रहेका प्राविधिक कमजोरीहरू सुधार गर्न कदम चालेको एफएटीएफको मूल्यांकनमा उल्लेख छ।

एफएटीएफले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी वित्तीयकरणका प्रमुख जोखिमबारे बुझाइ थप सुदृढ गर्न र जोखिममा आधारित अनुगमन प्रभावकारी बनाउन आग्रह गरेको छ।

त्यसैगरी, गैरकानुनी हुन्डी तथा रकम स्थानान्तरण सेवा प्रदायकहरूको पहिचान र कारबाही, सम्पत्ति शुद्धीकरण अनुसन्धानमा संलग्न निकायहरूको क्षमता तथा समन्वय वृद्धि, अनुसन्धान र अभियोजनको संख्या बढाउनेलगायतका क्षेत्रमा ठोस प्रगति देखाउनुपर्ने एफएटीएफले जनाएको छ।

अपराधबाट प्राप्त सम्पत्तिको पहिचान, खोजी, रोक्का, जफत तथा आवश्यकताअनुसार राज्यको नियन्त्रणमा लिने कार्यलाई समेत जोखिमको प्रकृतिअनुसार प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाललाई एफएटीएफले सुझाव दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *