म्याग्दीको रघुगङ्गामा केरा खेतीको पकेट क्षेत्र बनाइयो

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ राममन्दिर, माझखर्क र रिसिन चौतारीलाई केरा खेतीको पकेट क्षेत्र बनाइएको छ । स्थानीय बासिन्दाले परम्परागत खाद्यबालीको विकल्पमा खेतबारीमा व्यावसायिक केरा खेती गरेका हुन् । गाउँपालिकाको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रममार्फत ३५ कृषकले व्यावसायिक रुपमा केरा खेती गरेका छन् ।

केरा पकेट विकास कार्यक्रमका सदस्य मुक्ति सुवेदीले थोरै लगानीमा छिटो आम्दानी गर्न सकिने, बजार नजिक र अन्य बालीको तुलनामा सजिलो भएकाले केरा खेतीको लहर चलेको बताए । “धान, कोदो, मकै, गहुँभन्दा केरा खेतीबाट चार/पाँच गुणा बढी आम्दानी गर्न सकिन्छ”, उनले भने, “भूगोल र हावापानी अनुकूल भएकाले केरा खेतीमा लागेका हौँ ।” सो क्षेत्रमा यसअघि घरायसी प्रयोजनका लागि केरा खेती हँुदै आएको थियो ।

परीक्षणका लागि केही कृषकले धेरै सङ्ख्यामा लगाएको केराले उत्पादन र आम्दानी दिन थालेपछि अरू पनि आकर्षित भएका हुन् । गाउँभरि खेरा खेती गरिएको छ । यसअघि रघुगङ्गा वडा नं २ र ३ मा केरा खेती गर्ने कृषकका दुई समूह थिए ।

दुईवटै समूहलाई एकीकृत गरेर केरा पकेट विकास कार्यक्रम शुरु गरिएको गाउँपालिकाका कृषि शाखा संयोजक मनोज सुवेदीले बताए । चालु आर्थिक वर्षमा गाउँपालिकाले सात लाख ५० हजार विनियोजन गरेको केरा पकेट कार्यक्रमलाई कृषकले पनि त्यति नै लगानी साझेदारी गरेका छन् ।

“एक सय रोपनीमा स्थानीय हजारी जातको केराका नयाँ बिरुवा रोप्ने कार्यक्रम अन्तिम चरणमा छ”, सुवेदीले भने, “कार्यक्रममार्फत उपकरण, मल, विषादीमा सघाएका छौँ ।” सिँचाइका लागि एक हजार पाँच सय मिटर पाइप खरीद गरेका समूहले पाँच हजार छ सय नयाँ केराका बिरुवा रोपेका छन् ।

दुई खाडल खन्ने उपकरण र पाँच यान्त्रिक हलोका साथै गोठेमल, रासायनिक मल, केराको बीउ खरीदमा अनुदान दिइएको छ । एक कृषकले एक सय देखि पाँच सय केराका बिरुवा रोपेका छन् । कृषकको आयआर्जन वृद्धि र जीवनस्तर सुधारका लागि राममन्दिरलाई केरा खेतीको पकेट क्षेत्रका रुपमा विकास गर्न लागिएको वडा नं २ का वडाध्यक्ष रीम कटुवालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *