काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकरले भगवान बुद्धलाई महान् भारतीय भनेपछि नेपाल सरकारले बुद्ध नेपालमा जन्मेको उल्लेख गर्दै विवादको विषय नभएको बताएको छ । भारतीय विदेशमन्त्रीको उक्त अभिव्यक्तिबारे राखिएको जिज्ञासामा परराष्ट्र मन्त्रालयले यो विवादको विषय नै नभएको बताएको हो ।
“गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने ऐतिहासिक र पुरातात्विक प्रमाणका आधारमा स्थापित कुरा हो। बुद्धको जन्मभूमि बुद्धिज्मको उदगम थलो लुम्बिनी युनेस्कोको सम्पदा सूचीमा छ,’ परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, “सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा यहाँको संसदलाई सम्बोधन गर्दै नेपाल विश्वमा शान्तिका दूत गौतम बुद्धको देश भएको बताउनु भएको थियो ।’
परराष्ट्रले नेपालबाट विश्वका विभिन्न मुलुकमा बुद्धिज्म फैलिएको उल्लेख गर्दै तर बुद्ध कहाँ जन्मेका हुन् भन्ने कुराचाहिँ विवादको विषय नभएको स्पष्ट पारेको छ । “यो कुरा शंका र विवादभन्दा पर छ त्यसैले यो बहसको विषय हुन सक्दैन”, परराष्ट्रले भनेको छ, “सारा अन्तर्राष्ट्रिय समूदाय विषयमा जानकार छ ।”
यसअघि भारतीय विदेश मन्त्री एस जयशंकरले भगवान् गौतम बुद्ध महान भारतीय भएको बताएका थिए । कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रिजले गरेको भर्चुअल अन्तर्क्रिया कार्यक्रममा विदेशमन्त्री जयशंकरले संसारले सम्झिने दुई महान् भारतीयमा गौतम बुद्ध र महात्मा गान्धी रहेको बताएका थिए ।
