प्रज्जवल थापा । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज फूटबल प्रतियोगिता नेपाल सुपर लिग(एनएसएल) को प्लेअफ अन्तर्गतका खेलहरु आजबाट शुरु हुँदैछन् ।
आज हुने पहिलो प्लेअफ खेलमा काठमाडौं रेजर्स र धनगढी एफसी भिड्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल बेलुकी ५ः३० बजे शुरु हुनेछ ।
दुवै टोली आज हुने खेल जित्दै फाइनल प्रवेश गर्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । आज हुने खेल जित्ने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ भने पराजित हुने टोलीले एलिमिनेटरमा मौका पाउनेछ ।
भोलि हुने दोस्रो प्लेअफको विजेताले एलिमिनेटरमा पहिलो प्लेअफ खेलमा पराजित हुने टोलीसँग फाइनल प्रवेशको लागि भिड्नेछ । दोस्रो प्लेअफमा ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी भिड्नेछन् । फाइनल खेल जेठ १ गते हुनेछ ।
काठमाडौं लिगको शिर्ष स्थानमा रहेर प्लेअफमा प्रवेश गरेको थियो । काठमाडौं लिगको ६ खेलबाट १३ अङ्क जोड्दै शिर्ष स्थानमा रहेको थियो ।
काठमाडौंले लिग चरणको ६ खेल मध्य ४ खेलमा जित हात पार्दा एक खेल बराबरी खेल्दै एक खेलमा हार बेहोरेको थियो । काठमाडौंले लिग चरणको खेलमा धनगढीसँग ३–० गोलले पराजित भएको थियो । त्यसैले काठमाडौं आजको खेल जित्दै लिगचरणमा भोगेको हारको बदला लिन चाहन्छ ।
यता धनगढी भने आज खेलमा काठमाडौलाई हराउँदै लिगचरणको लयलाई निरन्तरता दिन चाहन्छ । धनगढी लिगको दोस्रो स्थानमा रहँदै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको थियो । धनगढीले लिग चरणको ६ खेलमा ३ जित, १ बराबरी र २ हारको नतिजा निकलदै १० अङ्क जोडेको थियो ।
नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्टले आयोजना गरेको लिगमा सात टोलीको सहभागिता रहेको छ । सहभागि टिममा ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स, एफसी चितवन, धनगढी एफसी, बुटवल लुम्बिनी एफसी, विराटनगर एफसी र पोखरा थन्डर्स रहेका छन् ।
प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ पाउनेछ भने उपविजेताले १५ लाख रुपैयाँ पाउनेछ । व्यक्तिगत विधाका विजेता सहित उदीयमान खेलाडीले जनही १ लाख रुपैयाँ पाउनेछन्।
