प्रज्जवल थापा । इङ्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले जित हात पारेको छ । गएराति भएको खेलमा युनाइटेडले एस्टन भिल्लालाई ३-१ गोल अन्तरले हराउँदै शिर्ष स्थानको सिटीसँग अङ्क दुरि घटाएको हो ।
युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेज, मासोन ग्रिनवुड र एडिन्सन काभानीले समान एक/एक गोल गरे । भिल्लाको लागि बेर्ट्रान्ड ट्राओरेले एक गोल फर्काए । खेलमा शुरुवाती अग्रता भने घरेलु टोलीले लिएको थियो । २४ औं मिनेटमा ट्राओरेले गोल गर्दै भिल्लालाई खेलमा अगाडि बढाएका थिए ।

५२ औं मिनेटमा ब्रुनो फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई बराबरीमा ल्याए । ५६ औं मिनेटमा वान बिस्साकाको पासमा ग्रिनवुडले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । ८७ औं मिनेटमा रासफोर्डको पासमा काभानीले गोल गर्दै युनाइटेडलाई ३-१ गोलको सहज जित दिलाए ।
जितसँगै युनाइटेड ३४ खेलबाट ७० अङ्क जोड्दै लिगको दोस्रो स्थानमा छ । एक खेल बढी खेलेको म्यान्चेस्टर सिटी ८० अङ्कको साथ शिर्ष स्थानमा छ ।
