प्रज्जवल थापा । स्पेनिस लिग ला लिगामा आज उपाधि होडमा रहेका रियल म्याड्रिड र सेभिल्ला भिड्दैछन् । अल्फ्रेडो डि स्टेफेनोमा हुने खेल नेपाली समय अनुसार राति १२:४५ बजे शुरु हुनेछ ।
घरेलु मैदानमा हुने खेल जित्दै म्याड्रिड शिर्ष स्थानमा उक्लिन चाहन्छ । हिजो(शनिबार) भएको खेलमा एथ्लेटिको म्याड्रिड र बार्सिलोनाले गोलरहित बराबरी खेलेपछि रियल म्याड्रिडलाई शिर्ष स्थानमा उक्लिने अवसर मिलेको हो । हाल रियल म्याड्रिड ३४ खेलबाट ७४ अङ्क जोड्दै लिगको तेस्रो स्थानमा छ ।
बुधबार युईएफए च्याम्पियन्स लिग अन्तर्गत भएको खेलमा चेल्सीसँग पराजित हुँदै प्रतियोगिताको सेमिफाइनलबाट बाहिरिएको म्याड्रिड आजको खेल जित्दै विजयी पथमा फर्किन चाहन्छ । रियल म्याड्रिडले आफ्नो पछिल्लो ५ खेलमा २ जित, २ बराबर र १ हारको नतिजा निकालेको छ ।
यता सेभिल्लापनि आजको खेल जित्दै उपाधि होडमा कायम रहन चाहन्छ । म्याड्रिडसँग पराजित भएको खण्डमा सेभिल्ला उपाधि होडबाट लगभग बाहिरिनेछ । हाल सेभिल्ला ३४ खेलबाट ७० अङ्क जोड्दै लिगको चौथो स्थानमा छ । पछिल्लो खेलमा एथ्लेटिक क्लबसँग स्तब्ध भएको सेभिल्ला आजको खेलमा सकारात्मक नतिजाको अपेक्षामा छ । सेभिल्लाले पछिल्लो ५ खेल मध्य ४ खेल जितेको छ ।
दुई टोलीबिच भएको पछिल्लो २७ भेटमा २० खेल म्याड्रिडले जितेको छ भने ६ खेल सेभिल्लाले जितेको थियो ।
