प्रज्जवल थापा । इटालियन लिग सिरि ए मा साविक विजेता युभेन्टसले सहज जित निकालेको छ । आइतबार बेलुकी भएको खेलमा युभेन्टसले जिनोआलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदान एल्लिनाज रंगशालामा भएको खेलमा युभेन्टसलाई जित दिलाउन डेजान कुलुसेभ्स्की, अल्भारो मोराटा र वेस्टोन मिकेन्नीले एकरएक गोल गरे । जिनोआको लागि गेनलुका स्कामाक्काले गरेको गोल सान्त्वनामा सिमित रह्यो । पहिलो हाफको चौथो मिनेटमै कौड्राडोको पासमा कुलुसेभ्स्कीले गोल गर्दै युभेन्टसलाई खेलमा अगाडि बढाएका थिए ।
२२ औं मिनेटमा मोराटाले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए । ४९ औं मिनेटमा रोभेलाको पासमा स्कामाक्काले गोल गर्दै जिनोआलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर ७० औं मिनेटमा ड्यानिल्लोको पासमा मिकेन्नीले गोल गर्दै युभेन्टसलाई ३-१ गोलको सहज जित दिलाए ।
जितसँगै युभेन्टस ३० खेलबाट ६२ अङ्क जोड्दै लिगको तेस्रो स्थानमा रहेको छ । इन्टर मिलान समान खेलबाट ७४ अङ्क जोड्दै लिगको शीर्ष स्थानमा रहेको छ । इन्टरले आजै भएको खेलमा काग्लियरीलाई १-० गोलले पराजित गरेको हो ।

