दोस्रो ओडिआई: भारतमाथि इङ्ल्याण्डको शानदार जित

प्रज्जवल थापा । भारतविरुद्वको दोस्रो एक दिवसीय क्रिकेटमा इङ्ल्याण्डले शानदार जित निकालेको छ । शुक्रबार दिउँसो पुनेमा भएको खेलमा इङ्ल्याण्ड ६ विकेटले विजयी भएको हो ।

यससँगै इङ्ल्याण्डले सिरिजमा १-१ को बराबरी गरेको छ । ३३७ रनको विजयी लक्ष्य पछ्याएको इङ्ल्याण्डले ४३.३ ओभरमा ४ विकेट गुमाउँदै ३३७ रन बनाएर लक्ष्य भेट्टायो । इङ्ल्याण्डको लागि जोनी बैर्स्ट्रोले शतक पुरा गर्दा बेन स्टोक्स शतक पुरा गर्नबाट एक रनले चुके । बैर्स्ट्रोले ११२ बलमा ११ चौका र ७ छक्काको मद्दतमा १२४ रन जोडे । यस्तै बेन स्टोक्सले बिस्पोटक ब्याटिङ गर्दै ५२ बलमा १० छक्का र ४ चौकाको मद्दतमा ९९ रन जोड्दा ओपनर जेसोन रोएले ५५, लिएम लिभिङस्टोनले २७ र डेविड मलानले १६ रनको योगदान गरे ।

भारतको लागि प्रसिद्व कृष्णले १० ओभर बलिङ गर्दै ५८ रन खर्चेर २ विकेट लिँदा भुवनेश्वर कुमारले १ विकेट लिए ।

यसअघि महाराष्ट्र क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३३६ रन बनाएको थियो । भारतको लागि केएल राहुलले शतक प्रहार गरे । राहुलले ११४ बलमा ७ चौका र २ छक्काको मद्दतमा १०८ रन जोडे । यस्तै ऋषव पन्तले ४० बलमा ७ छक्का र ३ चौकाको मद्दतमा ७७ रन जोड्दा कप्तान विराट कोहलीले ६६, हार्दिक पाण्ड्यले ३५, रोहित शर्माले २५ र कुर्नाल पाण्ड्यले १२ रनको योगदान गरे ।

इङ्ल्याण्डको लागि टोम कुरानले १० ओभर बलिङ गर्दै ८३ रन खर्चेर २ विकेट लिए । यस्तै रिक टोप्लीले २ विकेट लिँदा साम कुरान र अदिल रसिदले एकएक विकेट लिए ।

जितसँगै इङ्ल्याण्डले ३ खेलको सिरिजमा १-१ को बराबरी गरेको छ । दुई टोलीबिचको अन्तिम तथा निर्णायक ओडिआई आईतबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *