थ्री नेसन्स कप: आज बंगलादेश र नेपाल भिड्दै

प्रज्जवल थापा । थ्री नेसन्स कप अन्तराष्ट्रिय फूटबल प्रतियोगिता अन्तर्गत आज हुने समुहको अन्तिम खेलमा बंगलादेश र घरेलुु टोली नेपाल भिड्नेछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल बेलुकी ५:३० बजे शुरु हुनेछ ।

पहिलो खेलमा किर्गिस्थान यु-२३ सँग गोलरहित बराबरीमा रोकिएको नेपाललाई आजको खेल जित्नै पर्ने दबाब रहेको छ । झण्डै ६ वर्षपछि दशरथ रंगशालामा भएको खेलमा नेपालले किर्गिस टोलीलाई खेल अवधिभर दबाबमा राखेपनि फिनिसिङमा चुक्दा बराबरीमा रोकिन बाध्य भयो । खेलको पछिल्लो ३० मिनेट १० खेलाडीमा रहेर खेलेको किर्गिस्तानमाथि जित निकाल्न नसक्दा नेपालले एक खेल अगावै फाइनल पुग्ने मौका गुमायो ।

त्यसैले नेपाललाई आजको खेल जित्नै पर्ने दबाब रहेको छ । आजको खेलमा जित वा बराबरीको नतिजा निकाल्न सके नेपाल फाइनल पुग्नेछ । आजको खेलमा बंगलादेश विजयी भएको खण्डमा किर्गिस्तानले फाइनलको बाटो तय गर्नेछ । गत नोभेम्बरमा बंगलादेशको घरेलु मैदानमा भएको मैत्रीपूर्ण खेलको पहिलो खेलमा नेपाल २–० गोलले पराजित भएको थियो । दोस्रो खेल भने गोलरहित बराबरीमा सकिएको थियो ।

गत बिहीबार नेपाल र किर्गिस्तान यु-२३ ले बराबरी खेलेसँगै बंगलादेश एक खेल अगावै फाइनल प्रवेश गरेको थियो । बंगलादेशले प्रतियोगिताको उद्धाटन खेलमा किर्गिस्तान यु-२३ लाई १-० गोल अन्तरले पराजित गरेको थियो । आजको खेलको नतिजाले फाइनल पुग्ने अर्को टोलीको निधो लाग्नेछ । फाइनल खेल चैत १६ गते सोमबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *