बीबीसी । म्यानमारको सेनाले गरेको हवाई आक्रमणमा विवाह समारोहस्थल, विद्यालय र आवासीय क्षेत्रमा दर्जनौँ सर्वसाधारणको मृत्यु भएको छ ।
दक्षिणी शान राज्यको मोए बाइ गाउँमा शनिबार दिउँसो विवाह समारोह भइरहेको स्थलमा सेनाले हवाई आक्रमण गर्दा कम्तीमा २१ जनाको मृत्यु भएको र अन्य ३५ जना घाइते भएका उद्धारकर्मीहरूले बताएका छन् ।
यसअघि बिहीबार मध्य म्यानमारको मगवे क्षेत्रस्थित इन योन गाउँमा रहेको विद्यालयमा हवाई आक्रमण हुँदा विद्यार्थी, युवा भिक्षु तथा शिक्षकसहित कम्तीमा २० जना सर्वसाधारणको मृत्यु भएको निर्वासित राष्ट्रिय एकता सरकार (एनयूजी)ले जनाएको थियो ।
म्यानमारको सैन्य नेतृत्वको सरकारले यी आक्रमणबारे कुनै प्रतिक्रिया दिएको छैन ।
शनिबार साँझ पश्चिमी म्यानमारको रखाइन राज्यस्थित म्राउक–यू नगरमा पनि सेनाले हवाई आक्रमण गरेको थियो । स्थानीय समयअनुसार राति करिब ८ बजे आवासीय क्षेत्रमा गरिएको बमबारीमा १० जनाभन्दा बढीको मृत्यु भएको र करिब २० जना घाइते भएका बताइएको छ ।
म्राउक–यू क्षेत्र अराकान आर्मी (एए)को नियन्त्रणमा छ । अराकान आर्मी म्यानमारको सैन्य शासनविरुद्ध संघर्षरत शक्तिशाली जातीय सशस्त्र समूहहरूमध्ये एक हो ।
सन् २०२१ मा पूर्वनेता आङ सान सुकी नेतृत्वको निर्वाचित नागरिक सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता कब्जा गरेपछि म्यानमारमा लामो गृहयुद्ध जारी छ । त्यसयता देशभर सेनाले लगभग दैनिकजसो हवाई आक्रमण गर्दै आएको छ ।
सेनाले आफ्नो नियन्त्रणबाहिर रहेका क्षेत्रहरूमा स्थल सैन्य अभियान सञ्चालन गर्नुका साथै गाउँहरू जलाउने गतिविधि पनि गर्दै आएको छ । ती क्षेत्रहरूमा एनयूजी तथा विभिन्न जातीय सशस्त्र संगठनहरूको नियन्त्रण रहेका भूभागसमेत छन् ।पछिल्ला आक्रमण अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे)ले म्यानमारलाई रोहिंग्या अल्पसंख्यकमाथि नरसंहार गरेको ठहर गरेको एक सातापछि भएका हुन् ।
सन् २०१७ मा सेनाले गरेको दमनकारी अभियानमा हजारौँ रोहिंग्याको मृत्यु भएको थियो भने ७ लाखभन्दा बढी रोहिंग्या विस्थापित भएर देश छाड्न बाध्य भएका थिए । म्यानमारले नरसंहारको आरोप अस्वीकार गर्दै सशस्त्र समूहहरूको आक्रमणको जवाफमा सैन्य कारबाही गरिएको दाबी गर्दै आएको थियो । अन्तर्राष्ट्रिय अदालतबाट कुनै देशलाई नरसंहारको दोषी ठहर गरिएको यो पहिलो घटना हो ।
