काठमाडौं । पर्यटन क्षेत्रको विकास, साहसिक पर्यटन विस्तार तथा प्राकृतिक सम्पदाको दिगो उपयोगका लागि आवश्यक कानुनी तथा नीतिगत सुधारबारे सरकारका ६ मन्त्रीबीच छलफल भएको छ ।
बिहीबार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा मन्त्री सोविता गौतमसहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू, प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार र विभिन्न निकायका पदाधिकारी सहभागी छलफल भएको हो ।
छलफल राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र, वन तथा जग्गा उपयोगसँग सम्बन्धित विद्यमान कानुनी जटिलता, प्रक्रियागत दोहोरोपन र प्रशासनिक अवरोध हटाउने विषयमा केन्द्रित रहेको थियो ।
प्राकृतिक सम्पदा तथा जैविक विविधताको संरक्षण गर्दै पर्यटन पूर्वाधार विकास, साहसिक पर्यटन विस्तार, लगानीमैत्री वातावरण निर्माण र स्थानीय रोजगारी सिर्जना गर्ने उद्देश्यले आवश्यक कानुनी तथा नीतिगत सुधारका विषयमा छलफल गरिएको जनाइएको छ ।
छलफलमा गृहमन्त्री सुदन गुरुङ, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह सहभागी थिए ।
प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाललगायत सम्बन्धित निकायका पदाधिकारी पनि छलफलमा सहभागी थिए । विद्यमान कानुनी व्यवस्थाबीचका असंगति र प्रक्रियागत अवरोध हटाउन अन्तरमन्त्रालय समन्वयमा आवश्यक कानुन संशोधनको तयारी अघि बढाउने विषयमा छलफल भएको जनाइएको छ ।
