कोप–३१ मा नेपालको सहभागिताको कीर्तिमान, वित्तीय प्रतिबद्धता भने ओरालो !

-उत्तमबाबु श्रेष्ठ ।

यसपालिको जलवायु सम्मेलन कोप–३१ मा नेपालको प्रतिनिधिमण्डल डेनमार्क, फिनल्यान्ड, नेदरल्यान्ड्स र बेल्जियमलगायत थुप्रै युरोपेली मुलुक तथा छिमेकी भारतको भन्दा पनि ठूलो रहेछ । प्रतिनिधिमण्डलको आकारका आधारमा १९४ देशमध्ये नेपाल ५४ औँ स्थानमा परेछ । सम्मेलनमा भाग लिन यसपालि नेपालबाट १८१ जना टर्की गएका रहेछन् । प्रतिव्यक्ति जहाज, खाना बस्न लगभग ५,००० अमेरिकी डलर खर्च भएको मान्दा पनि कुल खर्च ठूलै देखिन्छ। काठमाडौँबाट टर्की जान तुलनात्मक रूपमा सहज र सस्तो भएकाले पनि सहभागिता बढेको हुन सक्छ । यसअघिको ब्राजिल सम्मेलनमा भने नेपालबाट ४१ जना सहभागी थिए।

यसपालिको कोपमा ९२,९३४ जना सहभागी भएको र यो अहिलेसम्मकै उच्च सङ्ख्या भएको भनिँदैछ । यसअघि दुबईमा भएको सम्मेलनले करिब ८० हजार सहभागीको कीर्तिमान राखेको थियो। सहभागिताले कीर्तिमान बनाउँदा जलवायु वित्तको प्रतिबद्धता भने घटेको देखिन्छ । विकसित देशहरूले गरिब देशहरूलाई दिने भनी प्रतिबद्धता जनाएको रकम सन् २०२६ मा अघिल्लो वर्षको तुलनामा ७० प्रतिशतले घटेको छ।

अमेरिका, फ्रान्स, जर्मनी, स्विडेन, स्पेन र इटालीलगायतका देशले ठूलो मात्रामा रकम कटौती गरेपछि यस्तो अवस्था आएको हो । अमेरिकाले त यसबाट हात झिकिसक्यो । युरोपेली देशहरूको अर्थतन्त्रमा परेको दबाबले पनि यो कटौतीमा भूमिका खेलेको हुन सक्छ । उता अमेरिका, चीन र रुसका प्रमुखहरूले चीनको सेन्जेनमा तेलको उत्पादन र आपूर्ति बढाउने सहमति गरिरहँदा कोप–३१ को मस्यौदा सहमतिपत्रमा जीवाश्म इन्धनको प्रयोग घटाउने विषय नसमेटिनु खासै अनौठो भएन । यही विषयमा सहमति जुट्न नसक्दा वार्ता निर्धारित समयभन्दा लम्बिएको छ। यो दुःखद समय ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *